कांग्रेस सभापतिमा उम्मेदवारी दिने श्रेष्ठको घोषणा

प्रकाशित मिति:

कास्की — कांग्रेसका केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले १४ औं महाधिबेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गुटरहित कांग्रेस बनाउने अभियानलाई सार्थक बनाउन आफूले सभापति पदमा उम्मेदावरी दिन लागेको पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले बताए ।नेपाली कांग्रेस स्याङ्जाले जिल्ला सदरमुकामस्थित पार्टी कार्यालयमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता श्रेष्ठले, गुटको अन्त्यसँगै नेपाली कांग्रेसलाई देशकै ठूलो दल बनाउन आफू उम्मेदवार बन्न लागेको दाबी गरे । कांग्रेसलाई सबैको पार्टी बनाउन हिमाल, पहाड र मधेसमा बस्ने आदिवासी जनजाति, दलित, मुस्लिम, अल्पसंख्यकलाई एक साथमा लिएर अगाडि बढ्ने उनको प्रतिवद्धता छ । ‘सबै क्षेत्र, वर्गलाई पार्टीमा प्रतिनिधित्व गराउने पहिलो दल नेपाली कांग्रेस हो’ उनले भने, ‘सनातन धर्मसहितको धार्मिक स्वतन्त्रता हाम्रो एजेन्डा हो ।’

जन्मभूमि स्याङ्जाबाट सभापतिमा उम्मेदवारी घोषण गर्दै श्रेष्ठले वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूलाई साथ दिनुपर्ने बताए । प्रधानमन्त्री देउवाको सक्रियता भएमा आफू सर्वसम्मतिमा सभापति बन्न सक्ने उनको भनाइ थियो । राजा ज्ञानेन्द्रले तानाशाही शासन गर्दासमेत आफू कार्यवाहक सभापति भएका बेला ११ औं महाधिवेशन गराएर ईमान्दारितापूर्वक जेलमा रहेका देउवालाई सर्वसम्मतिमा सभापतिमा चयन गराएको उनले स्मरण गराए ।

कांग्रेस सभापति भए सरकारलाई सफल बनाउन र आम नागरिकको आवश्यकता पूरा गराउन आफूले पूर्ण रुपमा सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।२०१६ मा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका श्रेष्ठ चारपटक मन्त्री बनिसकेका छन् भने, पार्टी उपसभापति हुँदै २ वर्ष कार्यवाहक सभापतिको जिम्मेवारीमा रहिसके । ०६१ मा देउवा जेल पर्दा उनले काव सभापति भई ११ औं महाधिवेशन गराएका थिए ।