पहिलो हाफमा नेपाल अगाडि

प्रकाशित मिति:

काठमाडौँ — अञ्जन विष्टको गोलको मद्दतले नेपालले बिहीबार भारतविरुद्धको पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलको पहिलो हाफमा १-० को अग्रता पाएको छ । चिंगलने सानाको ब्याकपासमा भारतीय गोलरक्षक गुरप्रित सिंहले बल नियन्त्रण लिन नसकेपछि अञ्जनले ३६ औं मिनेटमा गोल गरे ।

उनले बललाई पोस्टको दिशा दिँदा गोलरक्षक अगाडि रहेको स्थिति थियो । अब दोस्रो हाफमा नेपालले त्यस अग्रतालाई जोगाउने प्रयास गर्नेछ । नेपालले खेलमा प्राप्त गरेको पहिलो स्पष्ट मौकामा नै गोल गर्न सफल भएको हो । यसअघि अञ्जनले पेनाल्टी एरिया बाहिर प्राप्त फ्री-किकको फाइदा उठाउन सकेका थिएनन् ।

खेलमा सुस्त सुरुआतपछि पहिलो हाफको अन्त्यतिर रोमाञ्चकता उत्पन्न भएको थियो । भारतले पनि पहिलो हाफमा कुनै गतिलो आक्रमण भने गर्न सकेन । भारतीय कप्तान सुनिल क्षत्री नेपाली रक्षापंक्तिको घेरामा रहे र उनले प्रभावशाली प्रदर्शन गर्न असफल रहे । नेपालले गोल गरेपछि केही छरितो खेल प्रदर्शन गरेको थियो।