पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तानसेन नगरपालिका–८, डुम्रेमा खसेको पहिरो पन्छाउन बिहीबार र शुक्रबार राजमार्ग बन्द गरेको छ । दुई दिन बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म बाटो बन्द गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।प्रशासनले बिहीबार बेलुकी ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म बन्द गरेको सूचना जारी गरेको छ ।
यस्तै शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म पनि डुम्रे सडकको पहिरो पन्छाउन राजमार्ग बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए ।पहिरो हटाउन राजमार्ग बन्द गर्नुपर्ने सडक डिभिजन कार्यालयबाट अनुरोध भई आएकाले प्रशासन कार्यालयले सूचना जारी गरेर राजमार्ग बन्द गरेको हो । दुई रात एम्बुलेन्सबाहेक अन्य कुनै पनि सवारीसाधन संचालन हुने छैनन् । डुम्रे क्षेत्रमा पहाडै भासिएर खसेको पहिरो नपन्छाउँदा थप क्षति हुन सक्ने भएकाले तत्काल पहिरो हटाउन बाटो बन्द गर्नुपरेको प्रशासनले जनाएको छ ।
दुवैतर्फीको सडक सुचारू नहुँदा सवारीसाधन निर्वाध संचालनमासमेत समस्या आएको प्रहरीले जनाएको छ । मंगलबार बेलुकीबाट एकतर्फी यातायात संचालन भएको छ । यात्रुका अनुसार हिलाम्मे सडकमा सवारीसाधन पार गर्न नसक्दा घण्टौं लाइन लाग्नुपर्ने अवस्था रहेको छ । चालक केशव बस्यालका अनुसार पहिरोले एकतर्फी र हिलाम्मे भएकाले सवारीसाधन हिलोमा फसेर समस्या आएको छ । माथिल्लो भागबाट पहिरो खसेको र पानी पर्नासाथ जोखिम कायमै रहेको स्थानीय दिनेश घिमिरेले बताए ।








