वैज्ञानिकहरुले पृथ्वीमा भयानक सौर्य आँधी आउन लागेको बताएका छन्। उनीहरुका अनुसार सौर्य आँधी इन्टरनेटसहित पृथ्वीमा विकास भएका प्राविधिक पूर्वाधार ध्वस्त बनाउन सक्ने क्षमताको हुनेछ। पछिल्लो समय मानिसहरु प्रविधिमा निर्भर हुने क्रम बढ्दो छ। दैनिक जीवनयापनमा प्रविधि, विशेषतः इन्टरनेट अपरिहार्य बनिसकेको छ। तर, नयाँ अध्ययनले भने प्रविधिको क्षेत्रमा भएका तमाम विकास ध्वस्त हुने र लगभग ‘इन्टरनेट ब्लाकआउट’को अवस्था सिर्जन हुनसक्ने देखाएको हो।
क्यालिफोर्निया विश्वविद्यालयकी संगीता अब्दु ज्योतीले सौर्य आँधीबारे अध्ययन गरेकी हुन्। यदि यो सौर्य आँधी पृथ्वीमा आएको खण्डमा इन्टरनेट ब्लाकआउट हुनुका साथै हाम्रो डिजिटल जिन्दगी उलटपुलट बनाइदिने उनको अध्ययनबाट देखिएको छ। संगीताले सिगकम २०२१ को डेटा कन्फ्रेन्समा यससम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। उनको अध्ययनमा फाइबर अप्टिक्स प्रयोग गर्ने स्थानीय तथा क्षेत्रीय इन्टरनेट पूर्वाधारमा भने धेरै नोक्सान पुग्ने पनि देखिएको छ। तर, समुद्रमुनि राखिएका केबलबाट प्रसारित इन्टरनेट प्रयोगकर्ताहरु भने सौर्य आँधीका क्रममा अफलाइन हुनेछन्।









