एम्नेष्टी इन्टरनेशनल नेपाल समुह–१२ बुटवलको संयोजकमा नेपाल

प्रकाशित मिति:

एम्नेष्टी इन्टरनेशनल नेपाल समुह १२ बुटवलको संयोजकमा कबिन्द्र नेपाललाई चयन गरिएको छ । समुह १२ बुटवलको शनिबार भएको ३२ औं साधारण सभा तथा परिषद बैठकले नेपालको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।नयाँ कार्यसमितिको सहसंयोजकमा पूर्णबहादुर ज्ञवाली, सचिवमा बिमल बस्नेत, कोषाध्यक्षमा हरिप्रसाद गौतम तथा सदस्यहरुमा मधुकर घिमिरे, उदयराज भट्टराई, खेमानन्द पाठक, सपना रेग्मी (लम्साल) र बाबुराम न्यौपानेलाई सर्वसम्मत चयन गरिएको छ ।

साधारण सभा तथा परिषद बैठकको उद्घाटन गर्दै समुहका पूर्व संयोजक तथा राजनीतिकर्मी रामचन्द्र ढकालले आस्थाका बन्दी रिहाई र नेपालको द्वन्द्वकालिन समयमा एम्नेष्टीले गरेको योगदानको चर्चा गर्नुभयो । मानवअधिकारको परिभाषा एउटै हुनुपर्नेमा जोड दिँदै उहाँले विश्वव्यापी सञ्जाल भएको एम्नेष्टीको काम र यसको गरिमा पनि उच्च भएको बताउनु भयो ।

त्यस अवसरमा एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्व महासचिव तथा समुहका पूर्व संयोजक करुण खनालले मावनधिकारको संरक्षण र प्रवद्र्धनमा एम्नेष्टीको छुट्टै पहिचान र महत्व रहेको भनाई राख्नुभयो । समुहकी संयोजक शरीता भारीको अध्यक्षतामा भएको कार्यक्रममा समुहका पूर्व संयोजक तथा सल्लाहकार शालिकराम वञ्जाडे, छिमेकी समुहका संयोजकहरु महेन्द्र खनाल, जानकी नेपाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।साधारण सभामा समुहका सचिव बिमल बस्नेत र कोषाध्यक्ष पूर्णबहादुर ज्ञवालीले प्रस्तुत गरेको वार्षिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।