दिपक न्यौपाने,-मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्लाले भलिबल एकेडेमी संचालन गर्ने भएको छ । भलिबल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित रुपन्देही शाखाले दिपनगरस्थित शिवनगर सामुदायिक क्षेत्रमा एकेडेमी संचालन गर्ने भएको हो । बुटवलमा बुधबार भलिबल एकेडेमी संचालन तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम गरि खेल मैदान तयार गर्ने आवश्यक तयारी भएको एकेडेमीका उपाध्यक्ष युवराज सारुले जानकारी दिए । मदन भण्डारी एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्य, जिवलाल आश्रित प्रतिष्ठाका केन्द्रीय अध्यक्ष डा सागर न्यौपाने, खेलप्रेमी पुरन गुरुङ, मदन भण्डारी प्रदेशका देवि वाग्ले, शंकर पाण्डे, बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, सचिव बिनोद आचार्य, महेश खनालले खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए ।
एकेडेमीका उपाध्यक्ष आचार्यले मदन भण्डारी एकेडेमीको निक्कै कठिनाईको अवस्थामा स्थापना भएको उल्लेख गर्दे त्यो साझा संस्था भएको दाबी गरे । ब्यवसायिक खेलाडी उत्पादन गर्ने लक्ष्यसहित राष्ट्रिय झण्डाको पहिचानका लागि आफूहरु लागि परेको उनको भनाई थियो । भलिबल खेलमा रुचि भएका उमेर समुहका खेलाडीहरुलाई केन्द्रबाट कार्यविधि तयार गरेर आवश्यक योजना अनुसार उत्पादनमा जोड दिने उनले बताए ।कार्यक्रममा जिवलाल आश्रित प्रतिष्ठाका अध्यक्ष न्यौपानेले सानै उमेरबाट नै खेलकुदमा रोक लगाउने समाजमा अहिले ठूलो परिवर्तन आएको बताए । खेलकुदबाट व्यक्तिको शारीरिकसंगै मानसिक विकासमा पनि सकारात्मक परिवर्तन आउने विश्वास उनले व्यक्त गरे । एकेडेमीमा भलिबल प्रशिक्षक राजन कुवरले खेलाडीहरुलाई प्रशिक्षण दिदै आएका छन् । असोज १५ गतेबाट शुुरु हुने लाफा समुहको भलिबल प्रतियोगितामा एकेडेमीका २ टिमले भाग लिने भएको छ ।










