लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत् नयाँ बजेट ल्याउने भएको छ। बुधबारको प्रदेश बैठकमा सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले विधेयक पेस गर्ने भएका हुन्। नेकपा एमालेका नेता शंकर पोखरेलको पूर्ववर्ती सरकारले चालु आर्थिक वर्ष २०७८र७९ का लागि गएको असार १ गते ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर संसदमा बजेट पास गर्न बहुमत नहुने पक्का भएपछि तत्कालीन मुख्यमन्त्री पोखरेलले अध्यादेशमार्फत् बजेटलाई कार्यान्वयनमा लगेका थिए।
आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकले अघिल्लो बजेटका कार्यक्रम तथा योजनाहरुमा केही परिवर्त गरेको जानकारी दिए। “बजेटमा हाम्रा केही असहमतिहरु थिए। तिकुराहरुलाई समावेश गरेर बजेटलाई अझै परिष्कृत पार्दै विधेयक ल्याएका छौं,” उनले भने।सरकारले नयाँ बजेट पेस गर्न लाग्दा प्रतिपक्षमा पुगेको एमाले भने सदन अवरुद्ध गर्ने तयारीमा छ। सरकार गठन भएदेखि नै सूर्यचिन्हबाट चुनाब जितेका सांसदद्वय अजय शाही र बिमला वलीलाई कारवाही नहुँदासम्म सदन चल्न नदिने अडानमा रहेको एमालेले सदन अवरोधको श्रीङ्खलालाई निरन्तरता दिने बताएको छ। माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सदनमा बहुमत पुग्ने भएकाले प्रतिपक्षको अवरोधकै बीच बजेट पास हुने दाबी गरे।









