कोलकाताले राजस्थानलाई ८६ रनले हरायो, प्लेअफ सम्भावना बलियो

प्रकाशित मिति:

काठमाडौं । शुबमन गिलले ५६ रन तथा शिबम माबीको चारविकेटप्रेरित कोलकाता नाइटराइडर्सले आज इन्डियन प्रिमियर लिग (आईपीएलमा) राजस्थान रोयल्सलाई ८६ रनले हराएको छ ।

शारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको कोलकाताले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७१ रन बनाएको थियो । १७२ रनको लक्ष्य पछ्याएको राजस्थानले १६।१ ओभरमा ८५ रन बनाउँदा सबै विकेट गुमायो ।जितसँगै कोलकाताको प्लेअफ सम्भावना बलियो बनेको छ । कोलकाताले १४ खेलबाट १४ अंक जोडेको छ । कोलकाता अंक तालिकाको चौथो स्थानमा छ । अब मुम्बई इन्डियन्सले एकदम फराकिलो अन्तरमा जित्यो भने मात्र कोलकाताको यात्रा रोकिनेछ । होइन भने कोलकाताले प्लेअफमा स्थान सुरक्षित गर्नेछ । १३ खेलबाट १२ अंक जोडेको मुम्बई छैटौँ स्थानमा छ । मुम्बई अन्तिम खेल सनराइजर्स हैदराबादविरुद्ध खेल्नेछ ।

कोलकाताका लागि शुबमन गिलले ५६ रन बनाए । उनले बेनकाटेस ऐयरसँग पहिलो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए । बेनकाटेसले ३८ रन बनाए । त्यसबाहेक रहुल त्रिपाठीले २१ र नितिश रानाले १२ रन बनाए । दिनेश कार्तिक १४ र इयोन मोर्गान १३ रनमा अविजित रहे ।

राजस्थानका क्रिस मोरिस, चेतन सकारिया, राहुल टेवाटिया र ग्लेन फिलिप्सले एक(एक विकेट लिए ।१७२ रनको लक्ष्य पछ्याएको राजस्थानका राहुल टेबाटियाले ४४ र शिबम दुबेले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।कोलकाताका माबीले चार विकेट लिनुबाहेक ल्युक फर्गुसनले तीन विकेट लिए । शाकिब अल हसन र बरुण चक्रवर्तीको नाममा एक(एक विकेट रह्यो ।