रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको प्रहरी र सुकुम्बासीबीचको झडपमा चार जनाको मृत्यु भएको छ । दिउँसो मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडपमा घाइते भएकामध्ये तीन जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । अर्का एक जनाको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङ्गले जानकारी दिएका छन् ।
मृतक कपिलवस्तुको वाणगंगा नगरपालिका १०का ४८ वर्षीय रमेश परियार भएको अस्पतालले जनाएको छ ।भैरहवा मेडिकल कलेजमा १३ जना घाइतेलाई उपचारको लागि लगिएको छ । जसमध्ये ८ जना सर्वसाधारण र ५ जना प्रहरी रहेका अस्पतालका सूचना अधिकृत गुरूङले जनाएका छन् ।झडपमा दुबैतर्फ गरी ५० जनाभन्दा बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले दिएको जानकारी अनुसार २५ जना प्रहरी घाइते भएका छन् । उनले घाइतेहरुको पुरा विवरण अझै संकलन गर्न बाँकी रहेकाले घाइतेहरुको संख्या अझै बढ्न सक्ने जानकारी दिए । घाईतेहरुको अहिले जिल्लाका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।दिउँसो स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले करिब ३ दर्जन हवाई फायर गरेको थियो । स्थितिलाई थप बिग्रन नदिन रूपन्देही प्रशासनले अपरान्ह ४ बजेदेखि कर्फ्यु लगाएको छ ।









