विजय हितानको ‘ब्लु प्लानेट’ सार्वजनिक

प्रकाशित मिति:

काठमाडौँ – कथाकार विजय हितानको नयाँ कथासङ्ग्रह ‘ब्लु प्लानेट’ सार्वजनिक भएको छ । आफ्नो कृतिमा हितानले आजको विश्वव्यापी वातावरणीय समस्या र तिनको निराकरणका उपायहरूलाई कथाको रुपमा प्रस्तुत गरेका छन् ।कथाकार हितानका अनुसार आजसम्मका हाम्रा प्राय सबै साहित्यिक सिर्जनाहरू मानवकेन्द्रित छन् । मानवीय अतिक्रमणमा परेर पृथ्वीको पर्यावरण असन्तुलित बन्दै गैरहेको छ । तर विडम्वना, मानवीय सभ्यता नै धरापमा पर्न सक्ने यस्तो जटिल समस्याबाट हामी अनभिज्ञ छौँ । यसर्थ अब हाम्रा साहित्यिक सिर्जनाहरू मानवेत्तर जगततिर केन्द्रित गरेर पृथ्वीको पर्यावरणीय संरक्षण, संबर्धन र प्रबर्धन गर्नुपर्ने आवश्यकता छ ।

सङ्ग्रहभित्र १५ वटा पर्यावरणीय कथाहरू रहेका छन् । तिनले जलवायु परिवर्तन, जैविक विविधता, वन्यजन्तु चोरीशिकारी, बाढीपहिरो, जल तथा वायु प्रदूषण, वातावरण संरक्षण अभियान, विश्वव्यापी तापक्रम बृद्धिजस्ता विषयवस्तुलाई समेटेका छन् ।वातावरण विज्ञानमा स्नातकोत्तर गरेका हितानको यो कथासङ्ग्रहलाई फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो । ‘ब्रह्माण्डको निलो ग्रह यस धरतीमा पर्यावरण सन्तुलन, वातावरण संरक्षण र प्राणी–वनस्पतिबीचको प्राकृतिक चक्र नियमित गर्न सक्रिय हितान पर्या लेखन अर्थात् ‘इको राइटिङ’का अथक योद्धा हुन् ।’ भनेर प्रकाशकद्वारा आफ्नो प्रकाशकीयमा लेखिएको छ । पुस्तकको मूल्य रु। ३२५ राखेर बजारमा बिक्रीवितरण गरिँदै छ ।

यस कथासङ्ग्रहमा नेपालमा इको राइटिङलाई सबैभन्दा पहिला आफ्नो ‘उत्तर आधुनिक विमर्श’ पुस्तकमा सिद्धान्तीकरण गरेका प्रा। डा। गोविन्दराज भट्टराईको भूमिका रहेको छ ।गत एक दशकभन्दा बढी पर्यावरण साहित्यलाई नेपाली मूलधारको साहित्यमा भित्र्याउने अभियानमा खटिएका हितानको यो आठौँ साहित्यिक कृति हो । यसअघि थकित पृथ्वी, इको उत्सर्जन, बाग्मती ब्लुज, स्वच्छन्द सुसेलीहरूजस्ता कथा, निबन्ध र कविताकृतिहरू प्रकाशन भैसकेका छन् ।