काठमाडौँ– सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पुरस्कार दिने निर्णय गरेको हो । खेलाडीहरुलाई ५–५ लाख र प्रशिक्षकहरुलाई ३–३ लाख रुपैयाँ पुरस्कार दिने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । फाइनलमा भारतसँग ३–० गोल अन्तरले पराजित भएको नेपाल उपविजेता बनेको थियो । नेपालले साफको लिग चरणमा पनि एकमात्र हार भारतसँग बेहोरेको थियो । माल्दिभ्स र श्रीलंकलाई पराजित गरेको नेपालले बंगलादेशसँग भने बराबरी खेलेको थियो ।नेपाली टोली सोमबार मात्र नेपाल फर्किएको थियो ।









