विमानस्थलको छड्के अनुगमनमा पुगे पर्यटनमन्त्री आले; विमानस्थलमा भएका कमी–कमजोरीलाई अन्त्य गर्ने
१ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका कमी–कमजोरीलाई अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् ।सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमनमा पुगेका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने बताए ।
अनुगमनका क्रममा विमानस्थलमा टयाक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, यात्रुहरुलाई चिया, कफिमा समेत शुल्क महङ्गो लिने गरेको, कर्मचारीले आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना नगरेको पाइएकाले भन्दै उनले कमजोरीलाई अन्त्य गरिने बताए ।मन्त्री आलेले आइतबार काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजले केही यात्रु उडाएको र केही यात्रु छोडेकाले सो विषयमा नेपाल वायु सेवा निगमका महानिर्देशकसँग लिखित जवाफ माग गरेको समेत जानकारी दिए ।उनले गल्ती गर्नेलाई कारवाही गर्न निर्देशन दिएको बताए । आइतबार छुटेका यात्रुलाई सोमबार गन्तब्यमा पुर्याइएको छ । मन्त्री आलेले नेपाल वायु सेवा निगमलाई हवाइ टिकटका लागि ई–टिकेट ९अनलाइन० को व्यवस्था गर्न निर्देशन समेत दिएका छन् ।
अनुगमनकै क्रममा मन्त्री आलेले आफु पदमा रहुन्जेल सम्म नेपाल वायुसेवा निगमलाई माथि उठाउन लाग्ने बताए । अबका दिनमा अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरुले कुनै पनि समस्या नपाउन भन्दै सोही अनुसार काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि निकै साघुँरो तथा असहज भएकाले यहाँका जहाज धनगढी, नेपालगञ्ज, पोखारा, भैरहवा, बिराटनगर लगाएका बिमानस्थलमा पार्किङको व्यवस्थाका लागि पहल भइरहेको समेत उनले जानकारी गराए ।








