खानेपानी प्रमुखलाई कालोमोसो दलेर घुमाउने सिके राउतका कार्यकर्ता माथि सरकारले थाल्यो कारबाही

प्रकाशित मिति:

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सी।डी।ई।राजेश कुशवाहालाई दुर्व्यवहार गर्ने सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्तामाथि कारबाही सुरु भइसकेको बताएका छन् ।शुक्रवार गृह मन्त्रालयमा कुशवाहामाथि दुर्व्यवहार गर्ने कार्यकर्तालाई कारबाही गर्न माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री खाँणले कर्मचारी र राज्य प्रणालीको सुरक्षामा सरकार गम्भीर रहेको बताए ।

‘दुर्व्यवहार गर्नेमाथि कारबाही प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने, ‘कर्मचारी र राज्य प्रणालीको सुरक्षामा सरकार गम्भीर छ ।’ उनले शुक्रवार प्रहरीले कुशवाहामाथि दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ कार्यकर्तालाई आपराधिक उपद्रव मुद्दा लगाएर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेको छ ।कुशवाहालाई हिजो कार्यालयमा पुगेर जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए ।

शुक्रवार गृहमन्त्री खाँणलाई सेन्टर फर डेमोक्रयाटिक इञ्जिनियर्स एसोसिएसनका अध्यक्ष उमेश थानी नेतृत्वको प्रतिनिधि मण्डल, नेपाल इञ्जिनियर्स एसोसिएसनको केन्द्रीय समिति, बागमती प्रदेश समिति र नेपाल निजामती कर्मचारी युनियनको प्रतिनिधि मण्डलले छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका थिए ।सबै ज्ञापन पत्रमा कुशवाहमाथि भएको भएको व्यवहार निन्दनीय र भर्त्सना योग्य भएको भन्दै कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरिएको छ । शान्ति सुरक्षा कायम गर्न पनि ज्ञापन पत्रहरूमा माग गरिएको छ ।