प्रकाश न्यौपाने
कार्तिक ० ९ गते ।
नवलपरासी । पश्चिम नवलपरासीमा रहेका होटल तथा रेस्टुरेन्ट व्यवसायीहरु उधारोको मारमा परेका छन । कोरोना पछि बिस्तारै लयमा फर्किएको व्यवसाय अहिले उधारोको मारमा परेका होटल तथा रेस्टुरेन्ट व्यवसायि संघ नवलपरासीका अध्यक्ष ध्रुव भण्डारीले बताउनु भयो । “अतिथि देव भव: भने जस्तै हामी व्यवसायी हाम्रो होटलमा आउनु भएका ग्राहकहरु भगवान सरह हुनुहुन्छ उहाँहरुलाई होटलमा प्रवेश हुने बित्तिकै कति पैसा लिएर आउनु भएको छ भनेर सोध्न नमिल्ने खाएर सकेपछि केहि पैसा दिएर अरु बाकी भन्दै निस्कनु हुन्छ ।” भण्डारीले भन्नु भयो । होटल व्यवसायि संघ नवलपरासीमा आवद्ध रहेका ३ सय ८० वटा मध्येबाट हाल ६ करोड भन्दा बढी रकम उठ्न बाँकी रहेको भण्डारीले जानकारी दिनु भयो । होटल तथा रेष्टुरेन्ट ब्यबसाय पहिला सेवा दिने र पछि भुक्तानी लिने ब्यबसाय भएका कारण कतिपय ब्यक्तिहरु पहिला खाने र पछि पैसा नतिर्ने गरेका कारण जिल्ला भरका होटल ब्यबसायीको पाउनुपर्ने उधारो रकम जोड्दा ६ करोड भन्दा बढि पुगेको उहाले बताउनु भयो ।
उधारोकै कारण कतिपय व्यवसायिहरुले आफुले गरिरहनु भएको होटल तथा रेष्टुरेन्ट ब्यबसाय क्षेत्रबाट नै पलायन भएको बताउदै उहाले कतिपय ग्राहकहरुले उधारो खाने र पैसा माग्दा व्यवसायीहरुलाइ अनावश्यक डर धम्की दिने गरेको बताउनु भयो । हामीले हाम्रो व्यवसाय गरिरहदा बिभिन्न किसिमका सुरक्षा सम्बन्धि चुनौती आइरहदा ब्यबसायीक सुरक्षाका लागि राज्यको तर्फबाट ठोस पहल हुन नसकेको दुखेसो गर्नु भयो ।
अहिले होटल व्यवसायीहरु उधारोको मारमा परेकोले संघको पहिलो प्राथमिकता नै उधारो रकम उठाउनका लागि पहल गर्ने रहेको जिल्ला सह-सचिव जितेन्द्र श्रेष्ठले बताउनु भयो । पहिलो चरणमा उधारो बाँकी रहेकालाइ सुसूचित गरेका छौं र त्यस पछि भुक्तानी गर्न अटेरी गर्ने ब्यक्तिहरुको नाम ठेगाना जिल्ला संघ मार्फत सार्वजनिक गरिने श्रेष्ठको भनाई छ । त्यस पछि आवश्यक परे प्रशासनको समन्वयमा अगाडि बढिने उहाले बताउनु भयो । हाल सम्म उठ्न नसकेको सम्पुर्ण रकम व्यक्तिगत भएको र जिल्लामा रहेका संघ-संस्था, सरकारी निकाय तथा गैर सरकारि सस्थाको भने कुनै उधारो नरहेको संघले जनाएको छ ।
भैरहवामा अन्तराष्ट्रिय विमानस्थल संचालनको लागि अन्तिम तयारी भैरहँदा त्यसलाई मध्यनजर गरेर पश्चिम नवलपरासीमा पनि ठुलो लगानीका सुविधासम्पन्न होटलहरु निर्माण हुन थालेका छन् । जिल्लामा होटल ब्यबसायमा जति लगानी भैरहेको छ त्यस अनुसार ब्यबसायीहरु भने सन्तुष्ट हुन सकेका छैनन् । जिल्लामा ७ वटा पालिकामा सबैभन्दा बढि होटल ब्यबसाय बर्दघाट नगरपालिकामा रहेको छ । बर्दघाट नगरपालिकामा १ सय १२, सुनवल नगरपालिकामा ७१, रामग्राम नगरपालिकामा ५१, सरावल गाउँपालिकामा २३, पाल्हीनन्दन गाउँपालिकामा ३९, सुस्तामा ५४ र प्रतापपुर गाउँपालिकामा ३० संघमा आवद्ध रहेका छन् । जिल्लामा झण्डै ६ सयको हाराहारीमा साना ठुला गरि होटल व्यवसायीहरु रहेका छन ।









