न्युजिल्याण्डले इङ्ल्याण्डलाई पराजित गर्दै पहिलो पटक टी(ट्वान्टी विश्वकपको फाइनलको यात्रा तय गरेको छ ।आइसीसी टी-ट्वान्टी विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले इङ्ल्याण्डलाई पाँच विकेटले हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो ।शेख जायद स्टेडियम अबुधाबीमा टस हारेर पहिलो ब्याटिङ थालेको इङ्ल्याण्डले २० ओभरमा चार विकेट गुमाउँदै १६६ रन बनाएको थियो । इङ्ल्याण्डका अलराउण्डर मोइन अलिले सर्वाधिक ५१ रनको अविजित पारी खेलेका थिए ।
जीतका लागि १६७ रनको बलियो विजय लक्ष्य पछ्याएका न्युजिल्याण्डले १९ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।न्युजिल्याण्डका ओपनर ब्याट्सम्यान डर्याल मिचेलले ४७ बलमा चार छक्का र चार चौकासहित ७२ रनमा अविजित रहँदै न्युजिल्याण्डलाई फाइनलमा पुर्याएका थिए ।अन्तिम चार ओभरमा ५७ रनको आवश्यकता बोकेको न्युजिल्याण्ड १७औं ओभरमा जिमि निसमले २३ रन प्रहार गरेपछि खेलले नयाँ मोड लिएको थियो ।खेलको सुरुवातदेखि नै दवावमा परेको न्युजिल्याण्डले बिस्तारै पारी सम्हाल्दै खेललाई आफ्नो पक्षमा पार्दै जीत निकाल्न सफल भएको हो । यो जीतसँगै न्युजिल्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो ।
यसअघि न्युजिल्याण्ड सन् २००७ र २०१६ को विश्वकप संस्करणमा सेमिफाइनलबाटै बाहिरिएको थियो । सन् २०१६ को सेमिफाइनलमा इङ्ल्याण्ड सँगै सात विकेटले पराजित भएको थियो ।टी-ट्वान्टी विश्वकपको दोस्रो सेमिफाइनल खेल आज पाकिस्तान र अष्ट्रेलियाबीच खेलिंदैछ । खेल दुबई इन्टरनेशनल स्टेडियममा नेपाली समय साँझ ७।४५ बजेबाट सुरु हुँदैछ ।(









