जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण 

प्रकाशित मिति:

कौरव खत्री, बागलुङ २५ कात्तिक- बागलुङ गलकोटका एक युवाले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका सह सचिव एवं नेपाल भलिबल संघ जापानका सदस्य तुलवीर थापाले गलकोट नगरपालिका ७ मल्म स्थित जनहित माध्यमिक विद्यालय र प्रगति आधारभूत विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीहरुलाई २० हजार मूल्य बराबरको शैक्षिक सामाग्री सहयोग प्रदान गरेको जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिनुभयो ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको सहयोगदाता तुलवीर थापाले बताउनु भयो । विद्यार्थीलाई शैक्षिक गतिविधिमा थप आकर्षण गर्न र उनीहरुलाई थप प्रोत्साहन गर्न आफुले सहयोग गरेको सहयोगी थापाको भनाई छ । थापाले विद्यार्थीहरुलाई कपी,कलम सहित शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो ।जन्मदिनको सुखद अवसर पारेर थापाले जनहित माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार तर्फ विद्यार्थी विपसा थापा र प्रचण्ड बुढाथोकी,विपन्न तर्फ विद्यार्थी लभिसा खड्कालाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको विद्यालयका सहायक प्रधानाध्यापक भविन्द्र गौतमले जानकारी दिनुभयो ।

त्यस्तै थापाले प्रगति आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार तर्फ विद्यार्थी सुप्रिया केसी र दिप्लव श्रीस,विपन्न तर्फ विद्यार्थी सृष्टी विश्वकर्मालाई शैक्षिक सामाग्री सहयोग गरेको विद्यालयका प्रधानध्यापक तुल बहादुर थापाले जानकारी दिनुभयो । उक्त शैक्षिक सामाग्री गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा र घुम्टे युवा परिवारका सदस्य भूमिराज थापाले संयुक्त रुपमा विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ ।

सोही अवसरमा वडा सदस्य लोक बहादुर थापा र जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक देव बहादुर खत्रीले थापालाई जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।दुवै विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग प्रदान गर्ने थापालाई विद्यालयले सम्मान पत्र समेत प्रदान गरेका छ । सहयोगी थापा जनहित माध्यमिक विद्यालय र प्रगति आधारभूत विद्यालय मल्मका अक्षयकोषकर्ता,सहयोगी एवं पूर्व विद्यार्थी समेत हुनुहुन्छ ।गलकोट नगरपालिका वडा नं ७ मल्म स्थायी घर भई हाल जापानमा कर्म गरिरहेका युवा समाजसेवी तुलबीर थापाले सामाजिक संघ संस्थाहरुमा यस्तै परोपकारी कामहरु गर्दै आईरहनु भएको छ ।