लुम्बिनीमा १०० शैयाको अस्पताल निर्माण हुने

प्रकाशित मिति:

बुद्ध जन्मस्थल लुम्बिनीमा १ सय शैयाको अस्पताल निर्माण हुने भएको छ । रुपन्देहीको सांस्कृतिक नगरपालिका वडा नम्बर १० मा आधुनिक अस्पताल निर्माण हुने नगरप्रमुख मनमोहन चौधरीले बताए । खास गरी लुम्बिनी र यस आसपासका क्षेत्रका महिलामा देखिएको स्त्री तथा प्रजनन् स्वास्थ्यसम्बन्धी समस्यालाई मध्यनजर गर्दै अस्पताल निर्माणको तयारी भएको चौधरीले जानकारी दिए ।

लुम्बिनीमा आयोजना गरिएको एक कार्यक्रमकाबीच लुम्बिनी गार्डेन फाउण्डेशन, स्पेन र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच अस्पताल निर्माणको सम्झौता भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको पहलमा लुम्बिनी गार्डेन फाउण्डेशनले उक्त अस्पताल निर्माण गरिदिने जनाएको छ ।लुम्बिनी गार्डेन फाउण्डेशनका महासचिव एकराज गिरीले अस्पताल निर्माणका लागि नगरपालिकाले जग्गाको व्यवस्थापन गर्नुपर्ने बताए ।सम्झौतामा हस्ताक्षर कार्यक्रममा बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले लु।स।न।पा वडा नम्बर १० मा कम्तीमा एक महिनाभित्र जग्गाको व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले अस्पताल निर्माणको लागि सम्झौता पत्रमा हस्ताक्षर हुनु ऐतिहासिक कार्य भएको बताए । नगरप्रमुख चौधरीले सबैको सहयोगले अगाडी बढ्ने बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले लुम्बिनी धेरै पछाडी परेको गुनासो भइरहेको बेला यो कामले अब पछाडी पर्दैन भन्ने आशा जगाएको बताए । उनले लुम्बिनीको विकासका लागि लागिपरेको बताए ।कार्यक्रममा लुम्बिनी गार्डेन फाउण्डेशन र नवलपरासीको सुनवल नगरपालिका र सुस्ता गाउँपालिका विभिन्न बिषयमा सहयोग गर्ने गरी सम्झौता भएको छ । वातावरण, सरसफाई, संस्कृति, कृषि लगायतका क्षेत्रहरुमा सहकार्य हुने गरी सम्झौता भएको हो । सम्झौतामा सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डे र सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापा क्षेत्री तथा लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोस म्यानुअल भिलानोभालेले हस्ताक्षर गरेका थिए । त्यस्तै कार्यक्रममा लुम्बिनी स्मारिका समेत विमोचन गरिएको थियो । त्यसै गरी फाउण्डेशनले आफ्ना ७१ जना आजीवन सदस्यहरुलाई सदस्यता समेत बितरण गरेको थियो ।