मङ्सिर २५ बुटवल । भारतमा पाँच वटा राज्यमा भएको विधानसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीका दलले धक्का खाएको छ। पाँच राज्य मध्ये तीन राज्यमा मोदीको भारतीय जनता पार्टीको सत्ता रहेको थियो। यी तिनै राज्यमा भारतीय जनता पार्टी पछि परेको छ।
राजस्थान र छत्तिसगढमा भारतीय कांग्रेसले अग्रता लिइरहेको छ। पछिल्लो परिणामअनुसार छत्तिसगढमा कांग्रेसले बहुमत प्राप्त गर्ने देखाएको छ। राजस्थानमा बहुमत नजिक छ। मध्य प्रदेशको परिणाम भने निकै प्रतिस्पर्धात्मक देखिएको छ। पछिल्लो परिणामअनुसार कांग्रेस र भाजपा १ सय १० स्थानमा रहेका छन् । सो राज्यमा बहुमतका लागि १ सय १६ स्थान आवश्यक पर्छ।
तेलगंनामा सत्तारुढ दल तेलंगाना राष्ट्रिय परिषद र मिजोरममा मिजो नेसनल फ्रन्ट सत्तामा पुग्ने देखिएको छ। मिजोरममा यसअघि कांग्रेसको सरकार थियो। मध्यप्रदेश र छत्तिसगढ राज्यमा भाजपाका १५ वर्षदेखि शासन रहेको थियो। पाँच वर्षपछि राजस्थानमा कांग्रेस सत्तामा पुग्न लागेको हो।
आगमी जेठभित्र भारतमा लोकसभाको चुनाव हुनेछ। अहिलेको राज्य सभोको चुनाव पराजयले मोदीलाई पुन सत्तामा फर्किन कठिन हुने संकेत देखिएको छ। मोदी नेतृत्वमा २०१४ मा भएको लोकसभा चुनावमा भाजपाले बहुमत प्राप्त गरेको थियो। जसमा मध्यप्रदेश, राजस्थान र छत्तिसगढको जीत महत्वपूर्ण रहेको थियो। राजस्थानका २५ स्थान मध्ये भाजपाले सबै स्थानमा जीत हासिल गरेको थियो। यी तीन राज्यमा महत्वपूर्ण जीत हासिल गर्दै तीस वर्षपछि भारतमा कुनै पनि राजनीतिक दलले एकल बहुमत ल्याएको पहिलो पटक थियो।
यो चुनावलाई भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीको नेतृत्व परीक्षाका रुपमा समेत हेरिएको छ। गान्धीले पार्टीको नेतृत्व सम्हालेको एक वर्ष हुँदैछ। छत्तिसगढ, मध्यप्रदेश र राजस्थानमा अन्य राज्यका तुलनामा क्षेत्रीय दलहरु प्रभाव कम भएको प्रदेशहरु मानिन्छ।
प्रारम्भिक परिणाम आउन थालेपछि नयाँ दिल्लीस्थित केन्द्रीय कार्यालय र राज्यहरुमा कांग्रेसका समर्थन खुशीयाली मनाउन शुरु गरेका छन्। भारतीय सञ्चार माध्यमहरुले यसलाई सत्ताको सेमीफाइनल भन्दै समाचार प्रशारण गरेका छन्।












