नेपाली महिला टोलीले जित्यो कतारसँगको तीन खेलको टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

प्रकाशित मिति:

काठमाडौँ– लगातार दोस्रो खेल जित्दै नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तीनवटा टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलको शृंखला जित्ने पक्का गरेको छ। दोस्रो खेलमा बुधबार ६१ रनको जित हात पार्दै नेपाल तीन खेलको शृंखलामा २(० ले अगाडि बढेको हो। यसअघि मंगलबार साँझ भएको पहिलो खेल नेपाली टोलीले एक सय १९ रनले जितेको थियो।

बुधबार नेपालले दिएको एक सय ३० रनको लक्ष्य पछ्याएको कतारले १९ ओभर तीन बलमा सबै विकेट गुमाएर ६८ रन मात्र जोड्न सक्यो। नेपालकी सरस्वती चौधरीले चार, रुविना क्षेत्रीले दुई तथा सबनम राई, संगिता राई र कविता जोशीले एक एक विकेट लिए। सरस्वतीले सुरुका तीन ब्याट्सवुमनलाई आउट गरेकी थिइन्। तीमध्ये दुई जनाले खाता खोल्न सकेनन्। सरस्वतीले चार ओभरमा एक मेडन राखेर ८ रन मात्र खर्चिइन्।

यसअघि दोहामा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रन जोड्यो। नेपालको पालीमा कप्तान रुविना क्षेत्रीले ५० रन बनाइन्। यस्तै कविता कुँवरले ३१ र अप्सरी बेगमले अविजित २३ रन बनाए। ज्योति पाण्डे ६, काजल श्रेष्ठ ३ र सरिता मगर चार रन बनाएर आउट भए। डली भट्टले खाता खोल्न सकिनन्। रुविनाले ४८ बलमा एक छक्का र चार चौका प्रहार गरिन्। कविताले ३० बलमा दुई छक्का प्रहार गरिन्।नेपालले नोभेम्बर २२ तारिखबाट यूएईमा टीट्वेन्टी विश्वकपको एसियाली छनोट खेल्दै छ।