नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले शेरबहादुर देउवा नै नेपाली कांग्रेसको आगामी सभापति बन्ने बताएका छन्।सरकारको नेतृत्व र पार्टीको नेतृत्वमा फरक(फरक व्यक्ति हुँदा विगतमा कांग्रेस नेतृत्वको सरकार लामो समय टिक्न नसकेको भन्दै उनले सरकार र पार्टीको आगामी नेतृत्व पनि देउवाले नै गर्नुपर्ने बताएका हुन्।नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै खाणले एउटा व्यक्ति सभापति र अर्को व्यक्ति प्रधानमन्त्री हुँदा दुई जनाको बीचमा द्वन्द्व बढ्दै जाने भन्दै पार्टी र सरकारलाई गतिशील बनाउन पार्टी र सरकारको नेतृत्व एउटै व्यक्तिले गर्नुपर्ने बताएका हुन्।
‘शेरबहादुर देउवाप्रति अन्य राजनीतिक दलले पनि विश्वास गरिरहेका छन्, आगामी निर्वाचनसम्म सरकार र पार्टीको नेतृत्व पनि देउवाले नै गर्नुपर्छ,’ खाणले भने।उनले कांग्रेस बिनाको सरकारले चुनाव गराए त्यसको मूल्य कांग्रेसले नै चुकाउनुपर्ने भएकोले कांग्रेसकै नेतृत्वमा चुनाव हुनुपर्ने बताए।खाणले १४ औं महाधिवेशनबाट देउवा नै सभापति बन्ने र संघीय निर्वाचनपछि प्रधानमन्त्री पनि देउवा नै बन्ने दाबी गरे।‘कांग्रेस सरकारमा रहेको बेला पार्टी व्यवस्थापनमा केही समस्या देखिएका छन्, विगतमा सरकार र पार्टीलाई गतिशील बनाउन सकिएको थिएन, कांग्रेसले कांग्रेसलाई हराउने बहादुरी देखिएको थियो, अब भने प्रधानमन्त्री र सभापति पनि शेरबहादुर देउवालाई नै बनाउनुपर्छ,’ उनले भने।कांग्रेस कमजोर भए जनता र जनताको हकअधिकार कमजोर हुने भन्दै खाणले नागरिकलाई सफल र सक्षम बनाउन कांग्रेसलाई सुदृढ बनाउनुपर्ने बताए।सरकारका गृह मन्त्री समेत रहेका खाणले हतियार नबुझाएका शक्तिलाई हतियार बुझाएर राष्ट्रिय राजनीतिको मूलधारमा आउन आग्रह समेत गरे।
उनले मुलुकलाई हिंसाको राजनीतिबाट मुक्त गर्न र शान्तिको मार्ग सबैका लागि प्रशस्त गर्दै वर्तमान सरकारले शान्ति प्रक्रियालाई अगाडि बढाउन संकल्प लिएको दाबी गरे।खाणले सरकारले विप्लव समूहको राजनीतिक मागरमुद्दालाई सम्बोधन गरेर राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले वार्ता सुरू गरेको बताए।खाणले जुनसुकै दर्जाका प्रहरी सेवानिवृत्त हुँदा एक तह बढुवा हुनेगरी प्रहरी नियमावली संशोधन गरेर लोक सेवा आयोगमा स्वीकृतिका लागि पठाइएको जानकारी दिए।लामो समय बढुवा हुन नसक्दा वर्षौसम्म राज्यलाई योगदान गरेका प्रहरीहरू सेवानिवृत्तपछि घरव्यवहार र गुजारा चलाउन समेत नसक्ने भएकाले एक तह बढुवा गरी पेन्सन वृद्धिको योजना ल्याइएको उनको भनाइ छ।गृह मन्त्री बालकृष्ण खाणले हतियार नबुझाएका शक्तिलाई हतियार बुझाएर राष्ट्रिय राजनीतिको मूलधारमा आउन आग्रह गरेका छन्।उनले मुलुकलाई हिंसाको राजनीतिबाट मुक्त गर्न र शान्तिको मार्ग सबैका लागि प्रशस्त गर्दै सरकारले शान्ति प्रक्रियालाई अगाडि बढाउन संकल्प लिएको बताए ।








