काठमाडौँ-नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तेस्रो तथा अन्तिम टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा १६५ रनको लक्ष्य दिएको छ।टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ६४ रन जोडेको हो।
नेपालको पालीमा प्रारम्भिक ब्याट्सवुमन सीता राना मगर एक्लैले ८२ रन बनाइन्। उनले ७२ बल खेल्दै सात चौका प्रहार गरिन्। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला खेलाडीको यो व्यक्तिगत उच्च स्कोर हो। ज्योती पाण्डेले पनि २४ रन बनाइन्। अघिल्ला लगातार दुई खेल जितेर नेपालले तीन खेलको शृंखला जितिसकेको छ।









