प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेकी एक महिलासहित तीन लागुऔषध कारोबारी पक्राउ

प्रकाशित मिति:

मङ्सिर २५ काठमाडौं । दुई वर्षदेखि प्रहरीको मस्ट वान्टेडको सूचीमा रहेकी लागुऔषध कारोबारी पुनम कुमारी सहनीसहित तीन जना पक्राउ परेका छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन पक्राउ परेका तीनै जनालाई सार्वजनिक गरेको छ। प्रहरीले बाराकी पुनमका साथै पर्साका नरेश सहानी पर्साकै सुवास सहानीलाई वीरगन्जबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो।

भारतबाट लागूऔषध ल्याए काठमाडौँमा बेचविखन गरिरहेको र त्ययसमा एक महिला पनि संलग्न रहेको सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो। पक्राउ परेका तीनमध्ये नरेश र सुवासले भारतबाट लागुऔषध वीरगन्ज सम्म ल्याउने र वीरगन्जबाट काठमाडौँ ल्याएर बेच्ने काम पुनमले गर्ने गरेको प्रहरीको दावी छ।

उनीहरुका साथबाट लागुऔषध डाईजेल्याब २ सय एम्पुल, बुप्रेनुर्फिन २ सय एम्पुल र फेनारगन २ सय एम्पुल, ३ हजार पिस नाइट्रोजेपाम ट्याब्लेट समेत बरामद गरेको छ। तीनै जनालाई प्रहरीले वान्टेडको सूचीमा राखेर खोजीकार्य अगाडि बढाएको थियो। उनीहरुमाथि आवश्यक कार्वाही प्रक्रिया अघि बढाइएको व्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश अमात्यले जानकारी दिए। उनीहरुले भारतबाट लागू पदार्थ नेपाल भित्र्याउने र यहाँबाट अन्यत्र मुलुकमा पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।