नवलपरासीको महाधिवेशन प्रतिनिधिमा कंडेल भन्दा खनाल-कलवार बलियो

प्रकाशित मिति:

प्रकाश न्यौपाने
मंसिर ८ गते
नवलपरासी
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत पश्चिम नवलपरासीमा भएको महाधिवेशन प्रतिनिधि छनौटमा कंडेल भन्दा खनाल-कलवार बलियो देखिएको छ । इतर गुटका प्रतिनिधि सभा सदस्यद्धय विक्रम खनाल र देवकरण जयसवाल गुटले बहुमत ल्याएको छ ।
महाधिवेशन प्रतिनिधि केन्द्रीय समिति निर्वाचनका मतदाता हुन् । केन्द्रीय समिति चयनका लागि यस जिल्लाबाट निर्वाचितसहित कुल ५३ जना प्रतिनिधि सहभागि हुने भएका छन् । जसमा २९ जना इतर गुटका छन् भने २४ जना कँडेल गुटका छन् ।
महाधिवेशन प्रतिनिधिमा २ निर्वाचन क्षेत्रको अधिवेशनबाट ५० जना चुनिएका छन् । २ जना निर्वाचित क्षेत्रीय सभापति स्वत ः प्रतिनिधि रहने व्यवस्था छ । जसअनुसार २ निर्वाचन क्षेत्रबाट २ जना सभापति रहने छन् भने केन्द्रीय सदस्यसमेत प्रतिनिधि रहने व्यवस्थाले सांसद एंव केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल महाधिवेशन प्रतिनिधि रहेका छन् । तिमध्ये देउवा इतरको १ क्षेत्रीय सभापतिसहित २९ जना निर्वाचित भएका छन् । देउवा गुटको १ क्षेत्रीय सभापति र केन्द्रीय सदस्य कँडेलसहित २४ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।
जिल्लामा देउवा गुटमा रहेका पूर्वगृहराज्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कँडेलको एउटा गुट छ भने संविधानसभा सदस्यद्धय विक्रम खनाल र देवकरण जयसवालको अर्को संयुक्त गुट छ । केन्द्रमा देउवा इतरका नेताहरु नै विभाजित देखिएपछि यी दुई नेताहरु पनि केन्द्रीय नेताको पक्षमा खुलेका छैनन् । दुई गुटबीच जिल्लामा पानी बाराबारको स्थिति छ ।
अधिवेशनमा निर्वाचन क्षेत्र नं. १ मा इतरगुटले कार्य समितिसहित २५ जना सबै महाधिवेशन प्रतिनिधि जितेको छ । त्यस क्षेत्रमा देउवा गुटका क्षेत्रीय सभापतिका उमेदवार अशोकजंग राणालाई इतर गुटका मुकुलकुमार आचार्यले २ सय ३४ मत अन्तले हराउँदै कार्य समितिको प्यानल नै जितेको हो ।
क्षेत्र नं. २ मा देउवा गुटले कार्यसमिति प्यानल नै जितेको छ । त्यस क्षेत्रमा देउवा गुटका सभापतिका उमेदवार माधवप्रसाद पाण्डेले इतर गुटका नरेन्द्रकुमार गुप्तालाई ५३ मतअन्तरले हराएका छन् । पराजित गुप्ता रामग्राम नगरपालिकाका मेयर हुन् ।
महाधिवेशन प्रतिनिधि जित्ने देउवाइतर गुटमा क्षेत्र नं. १ बाट संविधानसभा सदस्यद्धय विक्रम खनाल, देवकरण जयसवाल छन् । त्यस्तै लालबहादुर गुरुङ, उमेशचन्द्र यादव, कृष्ण प्रसाद घिमिरे, कृष्णप्रसाद पाण्डे, चन्द्रप्रसाद ढकाल, तारा न्यौपाने, लालबहादुर अधिकारी र विश्वप्रेम पाठक छन् । त्यसैगरी भीमा गिरी, जीवनाथ पौडेल, सुकबहादुर गुरुङ, सुशिलादेवि कलवार, बन्धु बरई, नीता हरिजन, कर्णबहादुर विश्वकर्मा, रीता फौजदार, गिरिशबहादुर थारु, बदरुल हक खान र पवनकुमार गुप्ता, धममती सापकोटा, सीता चापागाई, सुमित्रा बाँस्तोला र ज्ञानीमाया लामाले इतर गुटबाट महाधिवेशन प्रतिनिधि जितेका छन् ।
क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि जित्ने देउवा गुटमा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवार, ऋषिराम पौडेल, मोहन प्रसाद शर्मा, राधेश्याम पाठक, यज्ञप्रसाद पौडेल, विष्णुप्रसाद पौडेल, लालबहादुर सेन ठकुरी छन् । त्यस्तै रम्भा कुँवर, मञ्जु कँडेल, दुर्गाबहादुर गुरुङ, पावित्रीदेवी कोहाँर, राजेश यादव, रामचन्द्र मौर्य, विनोद गौतम हरिजन, मिना चौधरी, महेन्द्र राय थारु, तौखिक अहमद अन्सारी र शिवशंकर राय छन् । उक्त गुटबाट प्रतिनिधि जित्नेमा अनिता शर्मा, ज्योती ढकाल, सीता ज्ञवाली र सुनिताकुमारी श्रेष्ठ छन् ।
त्यस क्षेत्रबाट देउवा इतर गुटबाट प्रतिनिधि जित्नेमा गुणनीधि तिवारी, अर्जुनकुमार पोखरेल र भीमबहादुर थापा छन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनपछि अहिले नेताहरु जिल्ला अधिवेशनको दौडधुपमा लागेका छन् । निर्वाचन क्षेत्र अधिवेशनको मत परिणामअनुसार देउवाइतर गुटको वर्चस्व देखिएको छ । देउवा गुटभन्दा इतर गुट १ सय ८२ मतले अघि देखिएको छ । मत परिणामले देउवा इतरका नेताहरु पूरै जिल्ला समिति जित्नेमा ढुक्क हुँदै प्रचार प्रसारमा जुटेका छन् । जिल्ला सभापतिका लागि दुवै गुटले यसअघि नै उमेदवार घोषणा गरिसकेका छन् । देउवा गुटबाट शिक्षक संघका पूर्व अध्यक्ष मोहन शर्मा र इतर गुटबाट वर्तमान जिल्ला उपसभापति अर्जुन कुमार पोखरेललाई सभापतिको उमेदवार घोषणा गरेर प्रचार प्रसारमा लागेका । जिल्ला अधिवेशन १० गतेलाई तोकिएको छ । यी सबै निर्वाचनका मतदाता वडाबाट चुनिएका क्षेत्रीय प्रतिनिधिहरु हुन । जिल्लामा कुल १३ सय ३८ जना मतदाता छन् ।