मूल्यवृद्धिबारे प्रधानमन्त्रीले भने- ‘सम्भव भएसम्म समायोजन प्रयास गर्नेछु

प्रकाशित मिति:

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले पेट्रोलियम पदार्थमा हालै भएको मूल्यवृद्धिबारे सम्बन्धित निकायसंग परामर्श गरेर मूल्य समायोजनका लागि प्रयास गर्ने बताएका छन् । संयुक्त विद्यार्थी संगठनका नेताहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको मागसहित बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

विभिन्न ६ विद्यार्थी संगठनले संयुक्त रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई बुधबार बिहान बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री देउवाले सम्बन्धित निकायसंग परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएका थिए ।

मूल्यवृद्धिका विषयमा सडकमा विद्यार्थी संगठनले उठाएको मागप्रति सरकार गम्भीर रहेको भन्दै प्रधानमन्त्री देउवाले जायज माग सम्बोधन गरिने प्रतिवद्धता व्यक्त गरे । अखिल९क्रान्तिकारी०की अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, नेत्रविक्रम चन्द निकट अखिल९क्रान्तिकरी० अध्यक्ष प्रकाश शाही, मोहन वैद्य निकटअखिल ९क्रान्तिकारी ०अध्यक्ष हरिकृष्ण गजुरेललगायतले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण आधारभुत जनताको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै उद्योग मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्रीलाई विद्यार्थी संगठनका नेताहरूले भेटेरै ज्ञापनपत्र बुझाएका हुन् । पछिल्लोपटक इन्धनमा गरिएको मूल्यवृद्धिपछि सडकमा दैनिकजसो युवा विद्यार्थी संगठनहरूले विरोध गर्दैआएकाछन् ।