काठमाण्डौ – १० औँ राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन जाँदै हुनुहुन्छ । आज दिउँसो एमाले निकट नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गर्ने कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ ।ओलीसहितका अन्य केही नेताहरू पनि आजै चितवन पुग्नेछन् । एमालेको १० औँ महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ ।
महाधिवेशनको सबै तयारी पूरा भएको छ । महाधिवेशनको लोगोमा अङ्कित गैँडाको मस्कट तयार गरिएको छ । यो मस्कट महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा राखिनेछ । उद्घाटन सत्रमा ५ लाख कार्यकर्ता उतार्ने एमालेले दाबी गरेको छ ।सहभागी हुने भएकाले प्रदर्शनका लागि गैँडाको मस्कटसहित केही सेल्फी बनाइएको छ । महाधिवेशनको बन्दसत्र हुने ठाउँ होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएका छन् ।
देशले शान्ति चाहेको आकृति, आँखाको नानीमा सूर्य चिह्नभित्र विकासका सूचक झल्कने चित्र, कृषिमा क्रान्तिको खाँचो औँल्याउने खालका चित्र, स्वयम्भू, धरहरा, परेवा, दुर्लभ पाटेबाघसहितका चित्र कोरेका छन् ।उत्कृष्ट चित्र बनाउने कलाकारलाई एमालेको महाधिवेशन उद्घाटनका दिन अध्यक्ष केपी शर्मा ओलीले नगद र प्रमाणपत्रसहित पुरस्कृत गर्ने तयारी छ।








