मङ्सिर २६ सात वर्षीय बालकलाई अपहरण गरी १५ लाख रुपैयाँ फिरौती मागेको आरोपमा झापाको गौरीगञ्जबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेकी इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए।
भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा सात वर्षीय मैफुज आलमलाई अपहरण गरी उनीहरुले दमकको एक होटलमा बन्दक बनाएर फिरौती मागेका थिए। बालकलाई प्रहरीले अपहरण मुक्त गरेको छ। प्रहरीका अनुसार अपहरणकारीले अपहरणपछि बालकको परिवारसँग १५ लाख फिरौती मागेका थिए। रकम तिर्न नसकेपछि आलमको परिवारले भारतीय प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय गौरीगञ्जलाई खबर गरेका थियो। इलाका प्रहरी कार्यालय गौरीगञ्जको पहलमा नेपाल प्रहरीको टोलीले आलमलाई दमकको एउटा होटलबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ। पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरी निरीक्षक पौडेलले बताए।












