तिलोत्तमालाई बालमैत्री बनाउन रणनीतिक योजना निर्माण

प्रकाशित मिति:

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउन विभिन्न कार्यक्रमहरु भैरहँदा बालमैत्री घोषणापछि त्यसलाई दिगो बनाउन आवश्यक योजना समेत निर्माण गरिएको छ । तिलोत्तमालाई यहीँ मंसिर २९ गते बालमैत्री नगरपालिका घोषणा गर्नेगरी आवश्यक सूचक पूरा गराउन विभिन्न अभियानात्मक कार्यक्रम भैरहेका छन् ।बालमैत्री स्थानीय शासनका सूचकहरुको अन्तिम अवस्था मापन, स्थितिपत्र तयारी तथा घोषणा पश्चात दिगोपनका लागि सरोकारवालाहरुको सहभागितामा रणनीतिक योजना निर्माण गरिएको हो । त्यसक्रममा जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधानाध्यापक, बाल क्लव, विभिन्न संघ संस्था, टोल विकास संस्था, सरकारी तथा गैरसरकारी सेवा प्रदायक निकायलगायत सरोकारवालाहरुले दिएका सुभावकको आधारमा रणनीतिक योजना निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यशालामा सबै वडाका प्रतिनिधिहरुले आफ्नो समग्र वडाको हालसम्मको बालमैत्री वातावरणको अवस्थाको जानकारी गराउनुको साथैं दिगोपनको लागि गर्नुपर्ने कामलाई समेटेर योजना समेत प्रस्तुत गरेका थिए । त्यसक्रममा राष्ट्रिय प्रशिक्षक बिष्णु बहादुर चौबेले नगरबासीको सामुहिक पहलले तिलोत्तमा बालमैत्री नगर घोषणा हुन लागेको बताउनुभयो । नगर प्रमुख बासुदेव घिमिरेले बालमैत्री नगर बनाउने अभियानमा सबै मिलेर जुट्न आग्रह गर्दै यसको दिगोपनको लागि सबै प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो ।तिलोत्तममा बालमैत्री नगरपालिका घोषणाका आवश्यक सूचक पूरा गर्न टोल टोलमा विभिन्न कार्यक्रमहरु भैरहेका छन् । बाल अधिकारको सन्दर्भमा सचेतना बढाउन छलफल, अन्रक्रिया, ¥याली, सडक नाटक, पर्चा पम्प्लेट तथा ब्यानर टाङ्ने लागायतका कार्यहरु भएका छन् ।

बालमैत्री स्थानीय शासन; बालअधिकार सम्बन्धी समग्र पक्ष अर्थात् बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको प्रवद्र्धन गरी नेपालको संविधानबमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारणा हो ।यो अवधारणाले बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिता जस्ता बालअधिकारका सवाललाई स्थानीय तहको नीति, योजना, संरचना, प्रणाली र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धतिलाई जनाउँछ ।“बालमैत्री स्थानीय तह” भन्नाले अर्थपूर्ण बाल सहभागितालाई सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा आधारित भै स्थानीय तह आफैले आवधिक र वार्षिक योजना तथा बजेट तर्जुमा गरी निर्धारण गरेका न्यूनतम् सूचकहरू सुनिश्चित गरिएको गाउँपालिका वा नगरपालिकालाई जनाउँछ । रूपन्देहीका १६ वटा स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बालमैत्री नगर घोषणा हुन लागेको हो ।