ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’को पुनर्निर्माण सम्पन्न

प्रकाशित मिति:

काठमाडौं । ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो ।बिस २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र यस पटक भने देशका विभिन्न स्थानहरुबाट ल्याइएका काठहरु काष्ठमण्डप बनाउनका लागि प्रयोग गरिएको समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

अध्यक्ष शाक्यका अनुसार अब काष्ठमण्डपलाई एउटै रुखको काठबाट बनेको भन्न मिल्दैन । उहाँले भूकम्पअघिको संरचनामा प्रयोग भएका काठ पाचौँ शताब्दीका भएको तर काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण गरिएको बताउनुभयो । अध्यक्ष शाक्यले अब चाँडै नै काष्ठमण्डपको उद्घाटन गर्ने मिति सार्वजनिक गर्ने पनि बताउनुभयो ।

अध्यक्ष शाक्यले पुनर्निर्माणका क्रममा काष्ठमण्डपमा अहिले काठबाहेक ढुङ्गा, माटो, इँटा, तामा लगायतका सामग्रीको प्रयोग गरिएको बताउनु भयो । उहाँले काष्ठमण्डपको बीचमा रहेको गोरखनाथको प्रस्तर मूर्ति नयाँ निर्माण गरिएको पनि बताउनुभयो ।काष्ठमण्डप पुनर्निर्माणका लागि ११ करोड ५० लाख विभिन्न निकायबाट अनुदान सहायता प्राप्त भएको थियो भने यसको पुनर्निर्माणमा करिव ११ करोड ३९ लाख खर्च भएको पनि समितिका अध्यक्ष शाक्यले बताउनुभयो ।