एकीकृत समाजवादीको मंसिर २५ जिल्ला भेलाको भव्य तयारी

प्रकाशित मिति:

बुटवल, २२ मंसिर । नेकपा एकीकृत समाजवादी बुटवल उपमहानगर कमिटीको बुधबार सम्पन्न बैठकले मंसिर २५ गते पार्टीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न गरिने जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा कार्यकर्ताहरुको सहभागिताका लागि कार्ययोजना बनाएको छ ।बुटवल उपमहानगरभित्रका वडाहरुमा पार्टी कमिटीहरुको गठन, जनवर्गीय संगठनको निर्माण र पेशागत संगठनहरुको अवस्था बारे छलफल गर्दै बैठकले पार्टीलाई जनस्तरमा पु¥याउनका लागि भावी योजना बनाइएको नगर अध्यक्ष चिन बहादुर गुरुङ्गले बताए ।

बैठकलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज डा. बालकृष्ण चापागाईंले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउन र परिवर्तित सन्दर्भमा सही नेतृत्वका लागि एकीकृत समाजवादी पार्टी निर्माण भएको बताए ।केपी ओलीको चरम महत्वाकांक्षा र दक्षिणपन्थी अवसरवाद, सिद्धान्तहीन र निरंकुश प्रवृत्तिका कारण एमालेबाट सच्चा कम्युनिष्टहरुले विद्रोह गरी एकीकृत समाजवादी पार्टी निर्माण गर्नु परेको चर्चा गर्दै यो पार्टीमा क्रमशः जनलहर आउदै गरेको डा. चापागाईंले बताए ।त्यस्तै गरी पार्टी केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष राजु गुरुङ्गले एकीकृत समाजवादी पार्टीमा युवा र विद्यार्थीहरुको निकै आकर्षण बढेकोले संगठन निर्माणमा गतिशीलता आएको बताए ।

त्यस्तै गरी एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला उपाध्यक्ष सिद्धिचरण भट्टराईले आधारभूत जनमुदायका वर्गीय मुद्धालाई एकीकृत समाजवादीले उठाएकाले संगठन निर्माणमा तिव्रता आएको बताए ।सो पार्टीका लुम्बिनी प्रदेश कमिटीका सदस्य डोलेन्द्र गहतराजले दलित र शोषित पीडित जनताको सच्चा पार्टी एकीकृत समाजवादी पार्टी भएको बताए ।
पार्टी बुटवल उपमहानगर अध्यक्ष चिन बहादुर गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सदस्य एवं नगर उपाध्यक्ष रुक्मागत घिमिरे र सञ्चालन बुटवल उपमहानगर सचिव लोकराज शर्माले गरेका थिए ।