पशु चिकित्सक टोल टोलमै पुगेर सेवा उपलब्ध गराउँदै

प्रकाशित मिति:

तोलाकान्त बगाले/वालिङ, २३ मङ्सिर ।वालिङ नगरपालिकाले टोल टोलमै पुगेर पशु स्वास्थ्य सेवा उपलब्ध गराउन शुरु गरेको छ । वालिङ नगरपालिका पशु सेवा शाखाले टोल टोलमा पुगेर पशु स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने र समस्या समाधानकालागि पहल गर्ने अभियानको आज नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङ ४ च्यारेमा उद्घाटन गर्नुभएको हो ।नगरपालिकाका विभिन्न वडामा पशुपालन गर्नुभएका किसानहरुलाई ब्यवसायिकतातर्फ आकर्षित गर्न र ब्यवसाय सञ्चालनकाक्रममा आईपरेका समस्याहरुको समाधानकालागि सहयोग गर्ने मुख्य उद्देश्यसहित यस अभियानको थालनी गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।

परम्परागत र निर्वाहमुखी पशुपालनभन्दा पनि ब्यवसायिकतातर्फ जोड दिनुकासाथै आईपरेका समस्याहरुकाबारेमा सम्बोधन गर्नका लागि आवश्यक नीति नियमहरु बनाउन सहयोग पुग्ने विश्वास नगर प्रमुख खाँणले ब्यक्त गर्नुभयो ।नगरपालिकाले वडाहरुमा पशु प्राविधिकहरु थप गरी समयमै पशुसम्बन्धी स्वास्थ्य सेवा तथा पशुपालन गर्दा आईपर्ने प्राविधिक समस्याहरुकाबारेमा समाधान गर्दै लगिने नगर प्रमुख खाँणले बताउनुभयो ।चालु आर्थिक वर्षमा नगरका विभिन्न वडाका ३० वटा वडामा यो अभियान सञ्चालन गरिने पशु सेवा शाखाका प्रमुख डा. बसन्तकुमार अधिकारीले बताउनुभयो ।

नगरपालिकाको प्रत्यक्ष प्राविधिक सेवा नपुगेका टोलहरुमा पशुपंक्षीको स्थलगत उपचार, निशुल्क औषधि वितरण र गोठ तथा फर्ममै पुगेर पशु तथा पंक्षीहरुको निरीक्षणसँगै आवश्यक परामर्श तथा सुझावहरु दिईने शाखा प्रमुख अधिकारीले बताउनुभयो ।पशुपंक्षीपालन गर्न चाहने तर ज्ञानको अभावले समस्यामा परेका पशुपालक किसानहरुकालागि यो अभियान निक्कै महत्वपूर्ण हुने शाखा प्रमुख अधिकारीको दाबी छ । उक्त कार्यक्रममा सहभागीहरुले उठाएका जिज्ञाशाहरुकाबारेमा नगर प्रमुख खाँण, शाखा प्रमुख अधिकारी, पशु प्राविधिक लेखनाथ अर्याल र दोलराज गैह«ले सहजीकरण गर्नुभएको थियो ।उद्घाटन समारोह वालिङ वडा नं. ४ का वडा सदस्य ठगप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन पशु प्राविधिक दोलप्रसाद गैह«ेले गर्नुभएको थियो ।