तानसन – नागरिकलाई घर(घर तथा वडा(वडा सेवा सुविधा प्रदान गर्न पूर्वखोला गाउँपालिकाले वडा स्तरीय एकीकृत घुम्ति शिविर सञ्चालन गरेको छ। जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा पूर्वखोला गाउँपालिकाले वडा-वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरी जनताको काम घरदैलोमा अभियान सुरु गरेको हो।गाउँपालिकाले घरबाट बाहिर आउन नसक्नेलाई घर(घरमै, घर बाट बाहिर आउनेलाई वडा(वडाबाट घुम्ति शिविर मार्फत सेवा प्रदान गरेको हो। गाउँपालिकाले वडा(वडामा पुगेर व्यवसाय दर्ता, स्वास्थ्य शिविर, कृषि तथा पशु सेवा शिविर, महिला हिंसा न्युनीकरण अभियान, अपाङ्ग परिचयपत्र वितरण, स्वास्थ्य शिविर, योजना सम्झौता तथा भइपरि आएका नागरिक समस्या एउटै थलोबाट सम्बोधन गर्ने गरी एकीकृत घुम्ति शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताए।
कोभिड १९ को सक्रमणसँगै जनतालाई पालिकाको केन्द्रसम्म पुग्नसमेत कठिन भइरहेको समयमा पालिकाले प्रदान गर्ने सबै कसिमका सेवा सुविधासहित वडा(वडामा पुगेर घुम्ति शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए।वडामा सेवा लिनेको भीड नै भयो। नागरिकले राखेका गुनासाहरु अधिकांश सोही स्थानमै सम्बोधन गरेको, वडामा सम्बोधन नभएका गुनासा, सुझाव तथा उजुरी पालिकाबाट सम्बोधन गर्ने गरी टिपोट गरी ल्याएको प्रमुख प्रशासकीय अधिकृत पनेरुले बताए। नागरिकहरुले गरेका माग, सुझाव तथा गुनासाहरु केही कार्यपालिकाको बोर्ड बैठकबाट केही गाउँ परिषदबाट सम्बोधन गरिने गाउँपालिका अध्यक्ष थापाले बताए।
वडा-वडाबाट भएको एकीकृत घुम्ती शिविरले घरदैलोमा व्यवसाय दर्ता तथा नवीकरण गर्न पाएको, खेतीपाती तथा पशुपालनको विषयमा जानकारी लिएको, पालिकाले कृषि तथा पशुपालनमा प्रदान गर्ने अनुदान तथा सहुलियतका बारेमा जानकारी पाएको जल्पाकी रुमी सारुले बताइन्। एकीकृत घुम्ती शिविरमा लैङ्गिक हिंसाको जानकारी दिएका छौं। परिवार, समाजमा घर(घरमा भएका महिला हिंसाबारे सचेतना, कानुनी उपचार, कानुनी सेवा पालिकाबाट हुने सम्बोधन लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गर्दै पालिकाकी उपाध्यक्ष भागिरथी शर्मा भट्टराईले बताइन्।
पालिकाले एकीकृत घुम्ति शिविरबाट वडा नं १ सिलुवामा २५ जनालाई, वडा नं २ जल्पामा १० जनालाई, वडा नं ३ रिङनेरहमा ८ जनालाई, वडा नं ४ देवीनगरमा २१ जनालाई, वडा नं ५ विरकोटमा १३ जनालाई र हेकलाङमा ११ जनालाई अपाङ्ग परिचयपत्र वितरण गरेको छ। पालिकाले घुम्ति शिविरमार्फत ९१ वटा व्यवसाय दर्ता तथा नवीकरण गरेको सूचना अधिकारी मोहन ढकालले बताए। एकीकृत घुम्ति सेवालाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ।











