रोट्रयाक्ट क्लबको संयुक्त आयोजनामा शनिबार भैरहवामा वृहत रक्तदान कार्यक्रम सम्पन्न
भैरहवा, २५ मंसिर ।रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्धल्याण्ड र रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीको संयुक्त आयोजनामा शनिबार भैरहवामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका–१२ नयाँ सडकस्थित केयर प्लस डाईग्नोष्टिक एण्ड प्याथोलोजी ल्याबोरेटेरी प्रा.लि.मा रक्तदान कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले विगतमा रक्तदानका लागि प्रयास गरे पनि लो ब्लड प्रेसरका कारण रक्तदान गर्न नसकेको बताए । उनले पहिलोपटक रक्तदान गर्न लागेको जानकारी दिए । रोटरी र रोट्रयाक्ट क्लबले राम्रो काम गरेको र क्लबलाई सहयोग गर्न आफु तत्पर रहेको उनले बताए ।विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष भिमसेन कर्माचार्यले रक्तदान पुण्य काम भएको बताए । उनले रक्तदानले मान्छेको ज्यान बचाउन सहयोग गर्ने बताए । ‘मुलुकको विकासको लागि युवा अघि बढ्नुपर्छ, ’उनले भने ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी वर्ष २०२१/२२ का अध्यक्ष डा. शत्तदल चौधरीले रक्तदान गरे पछि रगत आफैलाई काम लाग्ने बताए । उनले रक्तदानले शरीर स्वस्थ राख्न मद्दत पुग्ने बताए । रक्तदान कार्यक्रमका लागि स्थान उपलब्ध गराउने केयर प्लस डाईग्नोष्टिक एण्ड प्याथोलोजी ल्याबोरेटेरी प्रा.लि.लाई उनले धन्यवाद ज्ञापन गरे ।रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी वर्ष २०२१/२२ का सचिव कृष्ण प्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा ६० जनाले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक तथा केयर प्लस डाईग्नोष्टिक एण्ड प्याथोलोजी ल्याबोरेटेरी प्रा.लि.का प्रबन्ध निर्देशक डा. अनिता शाह (शाही)ले बताइन् ।











