काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले नेकपा एमालेको महाधिवेशनमा ‘बा’ ले लिस्ट पढेजसरी कांग्रेस महाधिवेशनमा पदाधिकारीहरुको लिस्ट पढेर निर्वाचित भएको नसुनाउने बताएका छन् ।आइतबार कोइराला प्यानलले गरेको पत्रकार सम्मेलनमा थापाले एमाले बा’ले एक्लौँटी ढंगले पदाधिकारीहरु निर्वाचित भएजस्तो कांग्रेस महाधिवेशनमा नहुने भन्दै मतदाता नै सर्वेसर्वा रहेको बताए ।
‘भोलि हाम्रो भाग्य के हुने भन्ने कुराको निर्णयचाहिँ न यो हलमा बसेर हुनेछ न बालुवाटारमा बसेर हुनछे । हाम्रो निर्णय गर्ने तागत भृकुटीमण्डपमा घुमिरहनुभएको मतदाता साथीहरुको हातमा छ,’ उनले भने, ‘तपाईले सम्झनुभयो भने नेकपा एमालेको अधिवेशन हुँदै गर्दा मतदाताहरु भीडमा घाम तापिराख्नुभएको थियो तर, आँखाचाहीँ होटेलमा कि बाले लिस्ट पढ्नुहुन्छ । यहाँ कुनै बाले लिस्ट पढेको सुनिँदैन । मतदाताले जस्लाई भन्छन्, मत हाल्छन् त्यहीँ सभापति हो, पदाधिकारी हो ।’
पार्टीमा प्यानल जितेर सिंगो पार्टीलाई जिताउने पनि महामन्त्रीका उम्मेदवार थापाले बताए । साथै, आगामी निर्वाचनमा कांग्रेस एक्लैले निर्वाचन जित्नका लागि कांग्रेसमा १० लाखभन्दा बढीलाई पसौँ पसौँ बनाउनुपर्ने पनि बताए । उनले भने, ‘कांग्रेसमा ९ लाख क्रियाशीलबाहेक १० लाखलाई कांग्रेसमा पसौँ पसौँ लागोस् भन्ने खालको बनाउनुपर्छ । सफा बनाउनुपर्छ ।’











