काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी छ। शुक्रबार सुरु भएको महाधिवेशनको चौथो दिन आज सोमबार नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति उम्मेदवार शेरबहादुर देउवाले पनि राष्ट्रिय सभागृहमा पुगेर भर्खरै मतदान गरेका छन्।
मतदानका लागि उनलाई झन्डै एक घन्टा समय लागेको बताइएको छ। २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले लामो समय लागेको हो।सभापतिका उम्मेदवारमा देउवासहित डा। शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ गरी पाँचजना छन्।बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारणले झन्डै साढे ३ घन्टापछि सुरू भएको हो। कांग्रेस नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका हुन्। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।












