काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मतदान जारी छ। निर्वाचन समितिले साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेकोमा थप गरेर ९ बजेसम्म लम्ब्याइएको छ। समितिले आज सोमबार बिहान ८ बजेदेखि निर्वाचनका लागि समय निर्धारण गरिेको भए पनि मध्याह्न १२ बजेदेखि मात्र मतदान सुरु भएको थियो। महाधिवेशनमा १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
काँग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ। निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ। निर्वाचनमा मतदाताको सङ्ख्या र हालसम्म खसेको मतको सङ्ख्यालाई मध्यनजर गरी राति ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।
महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता छन्। साँझ ५ बजेसम्म २ हजारभन्दा बढीले मत खसालिसकेको निर्वाचन समितिले जनाएको छ।मतदान गर्न एक जना प्रतिनिधिलाई मतदान गर्न झन्डै एक घण्टा समय लाग्ने जनाइएको छ। कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ।












