काठमाडौं, २९ मंसिर : नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुनस् निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न निर्वाचनमा उनी विजयी भएका हुन् । देउवाले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका हुन् । काठमाडौंमा जारी १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा पहिलो चरणमा सभापतिका पाँच जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढी मत नपाएपछि मंगलबार निर्वाचन भएको थियो । उक्त निर्वाचनमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणको प्रतिस्पर्धामा विजयी हुँदै देउवाले दोस्रो पटक निर्वाचित सभापतिको रुपमा चार वर्ष पार्टीको नेतृत्व गर्ने भएका हुन् ।
सोमबार सम्पन्न निर्वाचनमा देउवा, कोइराला सहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच सभापतिमा प्रतिस्पर्धा भएको थियो । देउवा र कोइरालाले बढी मत पाएपछि दुई जना दोस्रो चरणको चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । यसअघि दुईपटक सभापति पदमा पराजित भएका देउवा १३ औं महाधिवेशनबाट पार्टीको नेतृत्व तहमा पुगेका थिए । त्यसक्रममा पनि उनी दोस्रो चरणको निर्वाचनमा नेता रामचन्द्र पौडेललाई पराजित गर्दै पहिलो पटक सभापतिमा निर्वाचित भएका थिए ।












