तिलोत्तमामा नगरस्तरीय सरसफाई ८० औं श्रृंखलामा

प्रकाशित मिति:

तिलोत्तमा, पुस १ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित सरसफाई अभियान; ८० औं श्रृंखलामा पुगेको छ । ८० औं श्रृंखला अन्तर्गत् बिहीबार वडा नं. ३ को सीमानगरमा नगरस्तरीय सरसफाई गरिएको छ । कोभिड—१९ को कारण प्रभावित सरसफाई अभियानले केही समययता निरन्तरता पाएसँगै समुदाय स्तरमा हुने सरसफाईमा नगरबासीहरु पुनः सक्रिय हुन थालेका छन् ।जनप्रतिनिधि, कर्मचारी, विभिन्न टोल विकास संस्था, क्लव, आमा समूहलगायतको सहभागितामा सरसफाई गरिएको हो । यस्तै नगरमा रहेका विभिन्न टोल विकास संस्थाहरुले समेत बिहीबार आ–आफ्नो क्षेत्रमा सरसफाई गरेका छन् ।

तिलोत्तमाले पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणालाई प्रभावकारी बनाउन सरसफाई अभियानलाई प्राथमिकतामा राख्दै आएको छ । नगरपालिकाले हरेक महिनाको १ र १५ गते नगर स्तरीय सरसफाई अभियान सञ्चालन गर्दै आएको छ भने टोल विकास संस्थाहरुले तोकिएका दिनका अतिरिक्त शनिबार वा सार्वजनिक बिदाको दिनमा समेत सरसफाई कार्यक्रम गर्दै आएका छन् ।

सरसफाई अभियानलाई सम्बोधन गर्दै नगर प्रमुख बासुदेव घिमिरेले तिलोत्तमाले भौतिक विकाससँगै मानवीय विकासलाई पनि उत्तिकैं महत्व दिएको बताउँदै नगरलाई सफा, स्वच्छ, हराभरा बनाउने दायित्व सबै नगरबासीको भएको बताउनुभयो । उहाँले सबैको सामूहकि प्रयासले नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन बनाउन सकिने बताउँदै जथाभावी फोहोर गर्नेलाई कारवाही हुने स्पष्ट पार्नुभयो । सो अवसरमा कार्यवाहक वडाध्यक्ष तेजबहादुर गुरुङलगायतले सरसफाईमा स्थानीय समुदायको भूमिकाका बारेमा प्रकाश पार्नुभएको थियो ।