बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयता सफल पार्न प्रदेश बलियो बनाउनुपर्ने बताएका छन् । कानुनी अवरोध, वित्तीय अवरोध चिर्दै संघीयता बलियो हुने धारणा उनको थियो ।
संघीयतामा कानून निर्माणको अवस्था र प्रदेश सरकार स्थानीय वित्त व्यवस्थापन विषयमा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको दाङमा उद्घाटन गर्दै मुख्यमन्त्री केसीले यस्तो धारणा राखेका हुन् । उनले जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले जनतालाई सुशासन दिने पहिलो कर्तव्य भएको उल्लेख गर्दै त्यसका लागि सबैले जनताप्रति उत्तरदायित्व भएर काम निस्वार्थ भावले जनताको सेवा गर्नुपर्ने बताए ।सेवाग्रहीलाई दिने सेवाका विषयले सरकारको लोकप्रियता बढ्ने उल्लेख गर्दै भने, ‘जनताको विकास निर्माणको अपेक्षा धेरै छन् । हाम्रो साधन र श्रोत सीमित छन्, यसैबाट परिणाममुखी नतिजा दिनुपर्छ ।’
अन्तरक्रिया कार्यक्रममा कानून निर्माणको आवश्यकता, निर्माणको अवस्थाबारेमा लुम्बिनी प्रदेशका निमित्त प्रमुख सचिव कुमार दाहाल, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी र कानून सचिव राजेन्द्र थापा लगायत संलग्न थिए ।











