सत्तारुढ ५ दलीय गठबन्धनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी) बारे टुंगोमा पुग्न ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन् ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ ५ दलीय गठबन्धनको बैठक बसेको थियो । सो बैठकले एमसीसीका सम्बन्धमा टुंगोमा पुग्न तीन नेतालाई जिम्मेवारी दिएको हो । कार्यदलले एमालेलगायत अन्य दलहरुसँग छलफल गरेर एमसीसीबारे ठोस निष्कर्षमा पुग्ने गठबन्धनका एक नेताले रातोपाटीलाई बताए ।
तीन सदस्यीय कार्यदलको नेतृत्व गरेका खनाल यसअघि नेकपाद्वारा गठित एमसीसी सम्बन्धी कार्यदलका समेत संयोजक थिए । खनालले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने बताउँदै आएका छन् । त्यसैगरी कार्यदलमा रहेका माओवादी नेता श्रेष्ठ पनि एमसीसी यही अवस्थामा पारित हुन नहुने लाइनमा छन् । कार्यदलका सदस्य रहेका मन्त्री कार्की भने यसअघि एमसीसी सम्झौताका हस्ताक्षरकर्ता समेत हुन् ।तीन सदस्यीय कार्यदल गठनलगत्तै आइतबार बालुवाटारमा सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा काँग्रेसबाहेक सबै दलका नेताले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने अडान राखेका थिए । सर्वदलीय बैठकमा डाकिएपनि प्रमुख प्रतिपक्षी एमाले भने अनुपस्थित रहेको थियो । गठबन्धनको बैठकले एमालेसँग समेत छलफल गर्ने जिम्मेवारी कार्यदललाई दिएको एक नेताले बताए ।एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा हुँदा एमसीसी पारित हुनुपर्ने बताउँदै आएपनि सरकारबाट बाहिरिएपनि भने एमसीसीबारे अस्पष्ट धारणा राख्दै आएको छ ।











