क्रिकेटको भलो हुने कदम उठाउनु पर्ने आवश्यक छ : सिप्यान

प्रकाशित मिति:

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)तथा क्रिकेट खेलाडीहरू बीचको विवादप्रति क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले ध्यानाकर्षण भएको जनाएको छ ।नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टको वर्गीकरणको विषयलाई लिएर क्यान र खेलाडीबीच विवाद बढेको छ । वर्गीकरणको विषयमा खेलाडीले क्यानविरूद्ध सार्वजनिक अभिव्यक्ति दिएको भन्दै क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीमुक्त गरी सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको छ ।

क्यानले ज्ञानेन्द्रसहित चार खेलाडीलाई आगामी ६ महिनासम्मका लागि सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गरेको छ ।त्यसमा खेलाडीले क्यान आफ्नो निर्णयबाट पछि हट्नुपर्ने अडान राखेका छन् । त्यसमा सिप्यानले प्रतिबद्धता जनाएको छ ।“क्रिकेट खेलाडीहरूको योगदानको फलस्वरूप आजको दिनमा नेपाली क्रिकेटले विश्व क्रिकेट जगतमा विशेष पहिचान बनाउन सफल भएको कुरा सबैमा विदित छ । तथापि, खेलाडीहरूले आफ्ना भावना तथा आवाजहरू अगाडि राख्न खोज्दा ती मागहरूको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीहरू माथि नै गरिएका कारवाहीहरूले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको छ,” सिप्यानले सोमबार जारी गरेको विज्ञप्ती भनिएको छ, च्सिप्यानले गत वर्ष पनि क्यान तथा राष्ट्रिय खेलकुद परिषदलाई क्रिकेट खेलाडीसँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुमा वर्गीकरण सम्बन्धी दिइएको सुझाव आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ । वर्गीकरण जस्तो महत्वपूर्ण विषयवस्तुलाई पारदर्शी रूपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गर्दै तर्कसम्मत र त्रुटीरहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यकता पुनः दोहोर्याउन जरुरी देखिन्छ ।”

सिप्यानले थप भनेको छ, “क्यान र खेलाडीबीचमा रहेको यस विषयसँग सम्बन्धित तिक्तता मेटाई खेलाडीको मनोबल उच्च बनाई राख्न र समग्रमा नेपाली क्रिकेटको भलो हुने कदम उठाउनु पर्ने आवश्यकता टड्कारो रूपमा देखिएको छ ।”