खेलाडीको कारवाहीमा केहि लचिलो बन्ने तरखरमा क्यान !

प्रकाशित मिति:

नेपाल क्रिकेट संघ क्यान र क्रिकेट खेलाडीको विवादले यतिबेला क्रिकेट मात्र होइन, खेलकुद जगतमा नै चर्चाको विषय बनेको छ । क्यानसँग जुहारी खेलेको भन्दै संघले चार जना क्रिकेटर, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरी कारवाहि स्वरुप २०२२ को सुरुवाती ६ महिना केन्द्रिय सम्झौतामा नराख्ने र कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई बर्खास्त गरेको थियो । यो निर्णयले क्यानपनि आलोचित बन्न पुग्यो ।

यो विचमा क्रिकेटको यो घटनालाई क्रिकेट बाहेकका अरु क्षेत्रका ब्यक्तिलेपनि निकै चासोका साथ हेरे । यतिमात्र होइन, राजनितिक दलहरुले पनि यसलाई सच्याउनका लागि नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई निर्देशन नै दिए ।राजनितीक दबावपनि झेलेको क्यानले के अब खेलाडीसँग बार्ता गरेर लचकता अपनाउला भन्ने प्रश्न खडा भएको छ । केहि दिन अगाडी खेलाडीले पनि पत्रकार सम्मेलन गरेर क्यानको त्यो निर्णय परिमार्जन गर्नका लागि आग्रह गरेका थिए ।यहि विचमा यू १९ टिमसँग अभ्यास खेल खेल्न नमान्नु, राजनितिक दलका नेतालेपनि चासो दिएर सकिन्छ भने सच्याउन भन्नुले नेपाल क्रिकेट संघ खेलाडीको यो विवादलाई कसरी सल्ट्याउन सकिन्छ भन्ने ध्यानमा पुगेको छ । क्यानका अध्यक्ष चन्दमाथिपनि दबाव बढिरहेको छ ।

यस्तैमा यो विवादको समाधान वार्ताबाट गर्नुपर्ने र दुबै पक्ष लचिलो हुनुपर्ने धारणा क्रिकेट क्षेत्रमा ब्यक्तिहरुले भनिरहेका बेला अब के क्यानले खेलाडीसँग वार्ताको माध्यमबाट यसलाई समाधान गर्ला त ।स्रोतका अनुसार खेलाडीसँगको यो विवादलाई सल्ट्याउनका लागि अध्यक्ष चन्द केहि सक्रिय भएका छन । उनी खेलाडीसँग चाँडो भन्दा चाँडो वार्ता गरेर कसरी सहज वाताबरण बनाउने भन्ने चिन्तामा पुगेका छन । क्यानले धनगढीमा १४ र १५ गते हुने बार्षिक साधारणसभा अगाडी नै खेलाडीसँग वार्ता गरेर कुरा मिलाउने योजना बनाएको छ ।तर वार्ता भएपनि खेलाडीको कारवाही कम गर्ने तर कप्तान भने परिवर्तन नगर्ने मुडमा क्यान पुगेको छ । स्रोतका अनुसार यदि खेलाडीले आफ्नो गल्तिलाई स्विकार गरेको खण्डमा उनीहरुको कारवाहीलाई कम गर्ने योजना बनाएको छ । चन्दले पनि वार्ता गर्नसक्ने स्विकारेका छन ।तर त्यसका लागि खेलाडीलेपनि आफ्नो गल्तिलाई स्विकार्नुपर्ने भनाई चन्दको छ । आइसीसी ग्लोबल छनोटको तयारी अगाडी नै यो विवादलाई समाधान गरेर स्वहार्दपुर्ण वाताबरणमा क्याम्प सुरु होस भन्ने चाहनामा क्यान देखिएको छ ।वार्ताबाट खेलाडीको केन्द्रिय सम्झौताको कुरा केहि कम हुनसक्ने तर कप्तान परिवर्तनको कुरा कदापी नहुने स्रोतको भनाई छ । क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तानीबाट हटाएर सन्दिप लामिछानेलाई दिएपछि कारवाहीमा परेका खेलाडीमा बढि असन्तुष्टि थियो । उनीहरु क्यानले यो निर्णयलाईपनि परिमार्जन होस भन्ने चाहिरहेका छन । तर त्यसमा क्यान अडिक रहने स्रोतको भनाई छ ।