प्रदेश २ को नामकरण : नेकपा एकीकृत समाजवादीको प्रस्तावमा एमालेको समर्थन

प्रकाशित मिति:

प्रदेश २ को नामकरणका सम्बन्धमा नेकपा एकीकृत समाजवादी पार्टीले गरेको प्रस्तावमा नेकपा एमालेले समर्थन जनाएको छ । सुरुमा नेकपा एमालेले प्रदेशको नाम ‘जनक प्रदेश’ राख्न प्रस्ताव दर्ता गराएको थियो । तर नेकपा एकीकृत समाजवादीले ‘जानकी प्रदेश’ राख्न प्रस्ताव गरेपछि एमाले पनि जानकी प्रदेशकै पक्षमा उभिएको हो ।शुक्रवार बसेको प्रदेशसभाको आठौँ अधिवेशनको दोश्रो बैठकमा नेकपा एमालेकी सांसद शारदा देवी थापाले जानकी प्रदेशमै आफूहरुको समर्थन रहेको जनाइन् ।

एमाले विभाजन अघि नै प्रमोद कुमार यादवले ‘जानकी प्रदेश’ र शारदा देवी थापाले ‘जनक प्रदेश’ नाम दर्ता गराएका थिए । प्रदेशसभा सदस्य शारदा देवी थापाले एमालेले पनि जानकी प्रदेशमै समर्थन जनाउने बताइन् ।उनले यस प्रदेशका लागि ‘जानकी’ भन्दा उपयुक्त अन्य कुनै नाम नहुने दाबीसमेत गरिन् । जनककै नाममा जनकपुर नाम पर्न गएकाले जनकनन्दिनी जानकीको नाममा प्रदेशको नाम हुँदा आफूहरुलाई आपत्ति नहुने बताइन् ।

उनले मुख्यमन्त्री लालबाबु राउतले समेत प्रदेशमा छोरीहरुका लागि विभिन्न अभियान सञ्चालन गरेको र छोरीको अधिकारका कुरा गर्ने गरेकाले पनि लैंगिक हिसाबले समेत जानकी नाम सबैभन्दा बढी उचित हुने उनको भनाइ छ ।