परीक्षा बोर्ड अध्यक्षमा शर्मा

प्रकाशित मिति:

काठमाडौँ — सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले बिहीबार शर्मालाई चार वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी संयोजक रहेको तीन सदस्यीय सिफारिस समितिले शर्मालाई बोर्ड अध्यक्षमा नियुक्ति गर्न सिफारिस गरेको थियो । शर्मा लामो समय शिक्षा प्रशासनमा काम गरेका पूर्वसचिव हुन् । तत्कालीन अध्यक्ष चन्द्रमणि पौडेलको पदावधि गत असोज २४ मा सकिएपछि बोर्ड अध्यक्षविहीन थियो । सिफारिस समितिले सार्वजनिक सूचना गरेर अध्यक्ष बन्न दरखास्त आह्वान गरेको थियो । १५ जनाले आवेदन दिएकामा समितिले ५ जनालाई ‘सर्ट लिस्ट’ मा राखेर अवधारणा पत्र तथा चारवर्षे व्यावसायिक कार्ययोजनासहितको प्रस्तुतीकरण गराउनुका साथै अन्तर्वार्ता लिएको थियो । समितिमा खुला विश्वविद्यालयका पूर्वउपकुलपति लेखनाथ शर्मा र त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक मिना गुरुङ सदस्य थिए ।

२०७३ असार १५ मा गरिएको शिक्षा ऐनको आठौं संशोधनले विद्यालय शिक्षाको संरचनामा गरेको परिवर्तन सँगै तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् खारेज भई बोर्डको व्यवस्था गरिएको थियो । बोर्डले कक्षा १०–१२ को परीक्षा सञ्चालन गर्दै आएको छ ।