नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र भोलि सुरु हुने भएको छ ।माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको हो । उद्घाटनसत्र सकिएसँगै भोलिबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ । नेता जनार्दन शर्माका अनुसार भोलि बिहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ ।
काठमाडौंका प्रज्ञाभवनमा आयोजित महाधिवेशन उद्घाटसत्रको अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । उद्घाटन समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले०का महासचिव शंकर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलसहितका राजनीतिक दलका शीर्ष नेताहरू सहभागी थिए ।
देशभरबाट माओवादीका प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । १६ सय बढी प्रतिनिधिहरू बन्दसत्रमा सहभागी हुनेछन् । माओवादीले यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ । पाँच दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्नेछ ।











