१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा बहस र छलफल नगरी प्रचण्डपथलाई स्थगित गर्नु कमजोरी भएको स्वीकार गरेका छन् । तर अब फेरि प्रचण्डपथ भन्नु पछाडि फर्किनु हुने भन्दै यसबारे पार्टीमा भइरहेको बहसलाई अन्त्य गरिदिएका छन् ।
काठमाडौंमा चलिरहेको पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा सोमबार राजनीतिक प्रस्ताव पेश गर्दै प्रचण्डले जनयुद्धको गुणात्मक विकासमा प्रचण्डपथ र त्यही आधारमा विकसित २१औं शताब्दीको जनवादको विकाससम्बन्धी प्रस्तावनाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले आफ्नो प्रस्तावमा तत्कालीन नेकपा माओवादीलाई एकतावद्ध राख्ने बलियो वैचारिक हेडक्वार्टरका रुपमा प्रचण्डपथलाई दोस्रो राष्ट्रिय सम्मेलनले स्वीकार गरेको स्मरण गरेका छन् ।
तर शान्ति सम्झौता, संविधानसभा निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रपछि बदलिँदो राजनीतिक परिस्थितिमा कम्युनिस्ट आन्दोलनको बृहत एकताका निम्ति प्रचण्डपथ पदावली सबैका निम्ति स्वीकार्य हुन सम्भव नभएको पनि स्वीकार गरेका छन् यद्यपि पार्टीमा बहस छलफल नै नगरी प्रचण्डपथलाई स्थगित गर्नु कमजोरी भएको भन्दै उनले भनेका छन्, ‘दोस्रो राष्ट्रिय सम्मेलनको सर्वसम्मत निर्णय तथा माओवादी कार्यकर्ता र समर्थन जनमुदायबाट अनुमोदित प्रचण्डपथलाई न केन्द्रीय समितिमा न राष्ट्रिय भेलामा कुनै खालको बहस छलफल गरिएन, बरु प्रचण्डको व्यक्तिगत पुँजी जसरी स्थगित गर्दा पार्टीभित्र गम्भीर आशंका र अराजकतालाई टेवा दिइयो ।’सम्भव भए राष्ट्रिय सम्मेलन, नभए केन्द्रीय समितिमा छलफल गरेर निर्णय दिनुपर्ने उनले अहिले निष्कर्ष निकालेका छन् । तर शान्ति प्रक्रियामा आएपछि विचार र नेतृत्वबारे आवश्यक बहस छलफल गरी निष्कर्ष निकाल्ने काम नभएको भन्दै प्रचण्डले भनेका छन्, ‘दुबै नगरी हल्का ढंगले विषयलाई पन्छाउनु गलत भएको छ ।’
यसको अर्थ पुनः प्रचण्डपथ स्थापित गर्नुपर्छ भन्ने नभएको अध्यक्ष प्रचण्डले प्रष्ट पारेका छन् । ‘अब त्यसरी सोच्न विल्कुल पछि फर्किनु हुनपुग्छ’, उनले भनेका छन्, ‘बरु आजको आवश्यकता भनेको समाजवादी क्रान्तिको रणनीति अन्तर्गत नयाँ विचार संश्लेषणका लागि अध्ययन अनुसन्धान बहस गर्नु हो ।’ त्यसका लागि प्रचण्डपथ र २१औं शताब्दीको जनवाद त्यसका निम्ति महत्वपूर्ण सन्दर्भ सामग्री भने हुने उनले बताएका छन् ।











