नेपाल राष्ट्र बैंकको प्रतितपत्र (एलसी)सम्बन्धि नयाँ प्रावधानले व्यवसायी मर्कामा
बुटवल, १५ पुस । विलासिताका मालबस्तुको आयतमा प्रतितपत्र (एलसी) खोल्दा सत्प्रतिशत बैङ्क डिपोजिट गर्नुपर्ने राष्ट्र बैंकको नयाँ प्रावधानको व्यवसायीले विरोध गरेका छन् । नेपाल राष्ट्र बैंकले यो प्रावधान लागु गरेपछि त्यसअगाडि आयात भएका मालबस्तु समेत मन्सार विन्दुमा रोकिएको उनीहरुको भनाई छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा बुधबार भएको व्यवसायीहरुको छलफलमा उनीहरुले यसको व्यवस्थापनमा भूमिका खेल्न समेत नेपाल बैंकर्स एशोसियसन र नेपाल उद्योग वाणिज्य महासंघलाई आग्रह गरे । नेपाल राष्ट्र बैंकले हालै विलासिताका मालबस्तुको आयातमा एलसी खोल्दा, जती मुल्यको मालबस्तु छ, त्यती नै बैंकका डिपोजिट गर्नुपर्ने गरी नयाँ प्रावधान ल्याएको छ ।
नेपाल राष्ट्र बैंकको यो प्रावधान भन्दा अगाडि एलसी खोलेपछि माल बस्तु आयात गर्न पाईन्थ्यो । नेपाल राष्ट्र बैंकले यो प्रावधान लागु गरेपछि पहिले आयात भएका मालबस्तु समेत भन्सार विन्दुमा रोकिनु व्यबसायीका लागि दुःखद भएका उनीहरुको भनाई छ ।कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले राष्ट्र बैंकको यो प्रावधानले व्यवसायीलाई समस्या भएको भन्दै यसलाई सहज बनाउन आग्रह गर्नुभयो । उहाँले यसको सहज व्यवस्थापनको लागि महासंघले भूमिका खेल्नुपर्ने बताउँदै त्यसकालागि आफूले महासंघमा पहल गर्ने र बैंकर एशोसियसनलाई पनि भूमिका खेल्न आग्रह गर्नुभयो ।
त्यस विषयमा बुटवल उद्योग वाणिज्य संघका परामर्शदाता तथा सिटिजन्स बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रदिपकुमार श्रेष्ठ र नविल बैंकका लुम्बिनी प्रदेश प्रमुख कृष्ण थापाले नेपाल राष्ट्र बैंकले विलासिताका बस्तुको आयातमा गरेको प्रावधानका बारेमा व्याख्या गर्नुभएको थियो ।त्यसै अवसरमा नविल बैंक लुम्बिनी प्रदेशमा हालै आउनु भएका प्रदेश प्रमुख थापालाई संघमा स्वागत समेत गरिएको थियो । बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराईको सञ्चालन र कार्यसमिति सदस्य सञ्जय कलवार जयसवालको धन्यवादमा कार्यक्रम भएको थियो ।












