बुटवल, १६ पौष । स्वरोजगार मजुदरहरुको लुम्बिनी पिकअप समिति भनेर चिनिने लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघको ८औं वाािर्षक साधारण सभा आगामी माघ महिनामा हुने भएको छ । आज शुक्रबार बुटवलमा बसेको संघको दोश्रो पुर्ण बैठकले आगामी माघ २९ गते शनिबार साधारण सभा गर्ने निर्णय गरिएको अध्यक्ष दिनेश थापाले बताएका छन् । कुल ४ सय ६३ सदस्य संख्या रहेको संघले बिगतमा सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बिभिन्न सामाजिक कामहरु गर्दै आएको उल्लेख गर्दै अध्यक्ष थापाले कोरोना कहरका कारण ढुवानी ब्यबसाय धरासायी बनेको जानकारी गराएका छन् । राज्य पक्षको उपेक्षा र बिभेदकारी नितिका कारण बिगतदेखिनै बिभिन्न समस्याहरु भोग्दै आएका साना तथा मझौला ढुवानी ब्यबसायीहरु कोरोना कहरबाट झनै संकटमा परेको उनले बताएका छन् ।
संकटमा परेको ब्यबसायलाई उकास्न प्रयासरत स्वरोजगार मजदुर तथा ब्यबसायीहरुले मुख्य समस्याका रुपमा पार्किङ्ग अभाव रहेको बताएका छन् । अध्यक्ष थापा भन्छन् –अहिले पार्किङ्ग अभावका कारणले निकै सास्ती खेप्नु परेको अवस्था छ । बुटवल ट्राफिकस्थित दुर्गा मन्दिरदेखि पश्चिमपट्टीको केहि स्थान र सिन्दुर होटल पश्चिमपट्टीको साँघुरो स्थानमा पार्किङ्ग गदै आएका व्यवसायीहरुलाई स्थायी रुपमा पार्किङ्ग स्थल अभावका कारण समस्या खेप्नु परेको उनले बताए ।पार्किङ्ग समस्याका बारेमा सम्बन्धित निकाय र बुटवल उप–महानगरपालिकासँग छलफल समेत गर्दै आएको थापाको भनाई छ । कोराना महामारीले सबैभन्दा आक्रान्त परेको यातायात व्यवसाय क्षेत्र भएपनि अत्यावश्यक वस्तुहरु खाद्यान्न, औषधी, अक्सिजन लगाएतका सामाग्रीहरु घरघरमा पुराउने ढुवानी सेवा प्रदान गर्दै आएको संघका उपाध्यक्ष सुमन सापकोटाले बताएका छन् ।
कोरोना माहामारी, बढ्दो व्यापार घाटा आदीले व्यवसायमा कमी आएको उपाध्यक्ष सापकोटाले बताए । उनि भन्छन्–यसबाट युुवा व्यवसायीहरु विदेश पलायन हुने र पेशा परिर्वतन आदिले गर्दा नविकरणमा केहि कमी समेत आएको छ । उता बैंक तथा वित्तिय संस्थाले लगानी नगर्ने, यातायात व्यवस्था कार्यालयले रुट प्रमिट जारी नगरिदिने, इन्धनको मुल्यवृद्धि भैरहने आदी समस्याहरु रहेको निवर्तमान अध्यक्ष लक्ष्मण क्षेत्रीले बताए । क्षेत्रीका अनुसार संघले हाल मजदुर तथा चालकहरुको अवस्थालाई ध्यान दिदै बुटवल ६ स्थित सिन्दुर होटलको पश्चिमपट्टि विश्रामस्थल (प्रतिक्षाालय)को समेत निर्माण गरेको छ । ढुवानीका साधनको संख्या अनुरुप रुट परमिट नपाउदा ब्यबसायीहरु दिनप्रतिदिन थप समस्यामा पर्दै गएकोले लुम्बिनी प्रदेशभर निर्वाध रुपमा रुट परमिट जारी गर्न सरोकारवाला निकायलाई ब्यबसायीहरुले माग गर्दै आइरहेका छन् ।












