बुटवल, १६ पुस । बुटवलमा सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला पुर्वाद्र्धमा आइपुग्दा दर्शकको चाप बढ्दै गएको छ । उद्योग ब्यापार संघ बुटवलको आयोजनामा पुस ८ गतेदेखि सञ्चालित मेलाको नवौं दिन शुक्रबार ५० हजार बढी दर्शकले मेला अवलोकन गरेका मेला सचिवालय संयोजक एवं संघका महासचिव पदम जीसीले बताए । शुक्रबार मेलास्थलमै अंग्रेजी नयां वर्ष विशेष सांस्कृतिक कार्यक्रम रहेकाले दर्शकको उत्साहजनक उपस्थिति रहेको जीसीले बताए ।
मेलामा किनमेल,सांस्कृतिक कार्यक्रम र बाल उद्यानमा रमाउन मेलामा दर्शकको चाप बढ्दै गएको र मेलाका स्टलहरुमा पनि शुक्रबार सन्तोषजनक कारोबार भएको आयोजकले जनाएका छन् । शुक्रबार सांस्कृतिक कार्यक्रममा प्रिती आले, पुस्कल शर्मा,डिला बिक,अनिल पहाडी,नन्दु परियार तथा ओसियन अटो प्रदर्शनी डान्स आइडलका प्रतियोगीको प्रस्तुतिले दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए । शनिबार गायक एवं मोडेल दुर्गेश थापा,कुशल बेल्बासे,रबिना बसेल, रामचन्द्र चन्द,योगराज पोखरेल,सीता राना,विधान कार्की र मोडेल चांदनी सिलियाको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए ।
स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण नाराका साथ पुस २० गतेसम्म चल्ने मेलामा स्वदेशी र विदेशी गरी ४ सय ७० स्टल रहेका छन् । शनिबारका दिन आयोजकले वितरण गरेको पटके पासबाट मेलामा प्रवेश नपाइने तर आइतबार भने प्रवेश पाइने आयोजकले बताएका छन् ।












