गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनको तयारी हुँदैछ : पर्यटनमन्त्री आले

प्रकाशित मिति:

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनमा आउने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले करीब निर्माण सम्पन्न रहेको विमानस्थल आगामी ३ महिनाभित्र उद्घाटन गरिने बताए ।नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औं वार्षिकोत्सवको शुक्रवार उद्घाटन गर्दै मन्त्री आलेले गौतमबुद्ध विमानस्थलमा छिट्टै ‘क्यालिब्रेसन फ्लाइट’ गरेर व्यावसायिक उडान सञ्चालन गरिने उल्लेख गरे ।

उनले भने, ‘अब हामी भैरहवा विमानस्थल उद्घाटनको संघारमा छौं । हवाई रुटका सम्बन्धमा भारतसँग हालै नयाँ दिल्लीमा त्यहाँको एभिएसन मिनिस्टरसँग कुराकानी भएको छ । कागजात ल्याउनुस् हामी सकारात्मक छौं भन्नुभएको छ, चाँडै यो प्रक्रिया टुंगिने अपेक्षा गरिएको छ ।’गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य ९८।७६ प्रतिशत सम्पन्न भई रनबे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार उड्डयन सहायक उपकरणहरू, ब्यागेज ह्याण्डलिङग सिस्टम, एक्सरे आदि उपकरण जडान कार्य सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।पर्यटनमन्त्री आलेले छिटो ‘बिजनेश प्लान’ ल्याएर कम्तीमा १४ वटा जहाज खरिद प्रक्रिया अघि बढाउन नेपाल वायुसेवा निगम नेतृत्वलाई निर्देशन दिइसकिएको बताए । ‘मैले धेरै अगाडि पनि भनेको थिए । प्राधिकरणले भटाभट विमानस्थल बनाउँदै जान्छ, तपाईं ९वायुसेवा निगम० अन्य कम्पनीका नयाँ जहाज गनेर बस्नुस् । भएका जहाज मर्मत गरेर उडाउनुस् भनिरहेको छु,’ मन्त्री आलेले भने ।

मन्त्री आलेले युरोपका आकाशमा नेपाली जहाज उडाउने वातावरण सिर्जना गर्न युरोपेली युनियनको कालोसूचीबाट हट्ने गरी काम गर्न प्राधिकरणलाई निर्देशन दिए । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतमबुद्ध विमानस्थलमा जनवरी २०२२ भित्र क्यालिब्रेसन उडान गर्ने तयारी भइरहेको जानकारी दिए ।‘क्यालिब्रेसन फ्लाइटको तयारी भइरहेको छ, केही हाम्रै कारणले रोकिएको थियो, फिडर जडानको काम भइसकेको छ । उडान अनुमति पाएको एरो थाईका प्राविधिकले निरीक्षण गरेर गइसकेकोले जनवरीभित्रै परीक्षण उडान हुन्छ,’ उनले भने ।