विधानसम्मत ढङ्गले पार्टीलाई चलाउँछौ : महामन्त्री थापा

प्रकाशित मिति:

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र गुट र भागबन्डाको अन्त्य गर्ने बताएका छन् । उनले विधानसम्मत ढङ्गले पार्टीलाई चलाउने उल्लेख गरे ।नेपाली काँग्रेस पाणिनि गाउँपालिकाले आज दुर्गाफाँटमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले काँग्रेसले गरिबीमा रहेको जनसङ्ख्यालाई कसरी उकास्ने र कसरी रोजगारी सृजना गर्ने भन्ने कुरामा जोड दिने बताए । विदेश गएका युवाका लागि रोजगारी सृजना गर्नका लागि पार्टीले रणनीति बनाउने उनले उल्लेख गरे ।

महामन्त्रीमा निर्वाचित भएपछि काठमाडौँ उपत्यकाबाहिर पहिलो आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले स्थानीय तहको निर्वाचन वैशाखमा हुने तथा प्रदेश र सङ्घको निर्वाचन मङ्सिरमै हुने भएकाले त्यसको तयारीमा लाग्न काँग्रेस कार्यकर्तालाई आग्रह गरे ।काँग्रेस केन्द्रीय सदस्य एवम् संसदीय दलकी सचेतक पुष्पा भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण देश पछाडि धकेलिएको आरोप लगाइन् । उनले जनताको बलिदानीबाट प्राप्त संविधान र गणतन्त्रको रक्षाका लागि काँग्रेस जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने स्पष्ट पारिन् ।

काँग्रेस पाणिनिका सभापति तुल्सी पौडेलको अध्यक्षता, जिल्ला सचिव तथा पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमको सञ्चालन र यादवप्रसाद घिमिरेले स्वागत गरेको उक्त कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सञ्जय गौतम, काँग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, नेवि सङ्घका महामन्त्री युवराज पाण्डे, काँग्रेस प्रवेश गर्नुभएकी लक्ष्मी गौतमलगायतले आ–आफ्नो धारणा राखेका थिए ।